राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले ‘राष्ट्रिय धरोहर उत्कृष्ट खेलाडी सम्मान-२०८२’ बाट अन्तर्राष्ट्रियस्तरका तेक्वान्दो रेफ्री र खेलाडी दीपेन्द्र ढकाललाई सम्मान गरेको छ।
उनलाई प्रतिष्ठानकोतर्फबाट सञ्चार तथा प्रविधि मन्त्री जगदिश खरेलले सम्मान गरेका थिए।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले यस सम्मानको माध्यमबाट युवा प्रतिभालाई हौसला प्रदान गर्दै, राष्ट्रिय धरोहरको संरक्षण र प्रवर्धनमा जोड दिएको छ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले २०७० सालदेखि नेपालको राष्ट्रिय औपचारिक पोशाकको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरेको राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस अभियानले यस वर्ष १३ वर्ष पूरा गरेको छ ।
कार्यक्रममा रेफ्री ढकालसहित राष्ट्रिय झण्डाका पुनः ढाँचाकार वरिष्ठ इन्जिनियर शंकरनाथ रिमाल, नेपाल जेसिज २०२६ का अध्यक्ष जीवन कार्की, मिस नेपाल २०२५ की विजेता लुना लुइँटेल, टोपी अभियन्ता शंकर बन्जाडे, गीतकार लोकराज अधिकारी, पत्रकार भोजराज थापा, लेखिका अर्चना झा, आध्यात्मिक प्रवाचक संजेलजी महाराज, दिपकिशोर भट्टराई, कबिन्द्र न्यौपाने (बामन) लगायतलाई पनि विभिन्न विधामा सम्मान गरिएको थियो।
दुई वर्षअघि ढकाललाई युवा तथा खेलकुद मन्त्रालयले उत्कृष्ट निर्णायकको रुपमा छनोट गरेर १ लाख नगदसहित ‘राष्ट्रिय खेलकुद प्रतिभा सम्मान २०८०’ बाट सम्मानित गरेको थियो।
ढकालले दक्षिण एसियाली खेलकुद (साग), क्यानडा, अस्ट्रेलिया, जर्मनी, फ्रान्स, बेल्जियम र स्पेनजस्ता देशहरूमा सम्पन्न प्रतियोगिताहरूमा उनले निर्णायकको भूमिका निभाएका छन्।