पविलियन्स चेस एकेडेमीले आयोजना गरेको सिमल्टेनियस एक्जिबिसन तथा क्यू एन्ड ए सेसन सम्पन्न भएको छ।
विश्व र्यापिड च्याम्पियन २०२४ ग्रान्डमास्टर भोलोदार मुर्जिनले करिब ३० जना नेपाली खेलाडीहरूसँग एकैसाथ प्रतिस्पर्धा गर्दै सबै खेल जित्न सफल भएका छन्।
यो कार्यक्रम नेपालमा पहिलो पटक आयोजना गरिएको हो, जहाँ वर्तमान विश्व र्यापिड च्याम्पियनले प्रत्यक्ष रूपमा नेपाली खेलाडीहरूसँग खेल्दै आफ्नो विश्वस्तरीय कौशल प्रस्तुत गरे। कार्यक्रममा विभिन्न उमेर समूहका खेलाडी, प्रशिक्षक तथा चेसप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा जिएम मिखाइल कोबालिया, फिडे ट्रेनर्स कमिसनका पूर्वअध्यक्ष, ग्यारी कास्पारोभका पूर्वसेकेन्ड तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त प्रशिक्षकको उपस्थिति पनि विशेष आकर्षणको रूपमा रहेको थियो।
उनीहरुले खेलाडीहरूसँग अन्तरक्रिया गर्दै प्रशिक्षण, प्रतिस्पर्धात्मक सोच र अन्तर्राष्ट्रिय चेसबारे महत्त्वपूर्ण सुझावहरू दिए।
यो प्रतियोगिताले नेपाली चेसको स्तर उकास्न महत्त्वपूर्ण योगदान पुर्याएको आयोजक एकेडेमीले जनाएको छ।