युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता आगामी माघ ३ गते अमेरिका भ्रमणमा जाने भएपछि उनी के कार्यक्रममा जान लागे भनेर टिकाटिप्पणी भइरहेको छ।
मन्त्रिपरिषदले अमेरिकामा हुने 'रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन' सम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई स्वीकृति दिएपछि यो विषय चर्चामा आएको हो।
यो कार्यक्रम विकास उप्रेती अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्न लागेको हो।
अमेरिकामा अहिले गैरआवासीय नेपालीहरूका तीन समूह छन्। त्यसमध्ये उप्रेतीको समूह एउटा हो। उप्रेतीले संघको युवा विभागले कार्यक्रम आयोजना गर्न लागेको बताए।
'यो कार्यक्रम हाम्रो युवा विभागले टेक्सासको डलासमा आयोजना गर्न लागेको हो,' उप्रेतीले सेतोपाटीसँग भने, 'जेनजी आन्दोलनपछि युवाहरूको भूमिकाबारे युवा सम्मेलन गर्न लागिएको हो।'
मन्त्री गुप्तालाई बोलाउनेदेखि कार्यक्रमको योजना संघका युवा आशिस संग्रौलाले गरेको उनको भनाइ छ।
'सबै संयोजन हाम्रो युवा विभागले गरिरहेको छ,' उप्रेतीले भने, 'हामीले मन्त्री एक जनालाई मात्र निमन्त्रणा पठाएका छौं।'
मन्त्री गुप्ताले अहिलेसम्म आफ्नो भ्रमण तालिका पक्का नगरेकाले कार्यक्रमको स्थान र मिति तय नभएको उनको भनाइ छ।
'हामीले जनावरी १७ (माघ ३) का लागि कार्यक्रम तय गरेका थियौ, तर मन्त्रीज्यूले २० तारिख (माघ ६ गते) अघि नै नेपाल पुग्नुपर्ने भन्नुभएको छ। त्यसैले हामीले जनावरी १६ (माघ २) कार्यक्रम सार्ने तयारी गरिरहेका छौं,' उप्रेतीले भने, 'यसअघि हामीले पैसा नलाग्ने भएकाले युनिभर्सिटीमा कार्यक्रमको योजना बनाएका थियौ। तर कार्यक्रम सार्दा होटल खोज्नुपर्छ।'
माघ ६ मा प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन भएकाले मन्त्री त्यसअघि नै नेपाल फर्कन चाहेका हुन्। गैरदलीय सरकार भए पनि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट छन्।
रास्वपा अध्यक्ष रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच एकता हुँदा मन्त्री गुप्ता सक्रिय देखिएका थिए। उनले सहमतिपछि तीन जनासँग फोटोसमेत खिचाएका थिए। गैरदलीय सरकारमा उनी कुनै एक पार्टीनिकट भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा समेत मागेको सार्वजनिक भएको थियो।
मन्त्री गुप्ताका स्वकीय सचिव विनोद रिमालले अमेरिका भ्रमण जाने कार्यक्रम तीन साताअघि नै तय भएको बताए। बीचमा मन्त्रिपरिषद बैठक नबसेकाले केही दिनअघि मात्र भ्रमण स्वीकृत भएको रिमालको भनाइ छ।
'बीचमा एउटा मन्त्रिपरिषद बैठकको कार्यसूचीमा परेन, त्यसपछि १० दिन त बैठक नै बसेन। तीन दिनअघि अमेरिका जान मन्त्रिरिषदले स्वीकृति दिइसकेको छ,' रिमालले भने, 'उहाँ सरकारी खर्चमा जान लाग्नुभएको होइन। अमेरिकाकै आयोजकले उहाँको खर्च ब्यहोर्छ।'
अमेरिकामा हुने कार्यक्रममा मन्त्रीले जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा राख्ने रिमालले बताए।
'जेनजी आन्दोनल पछाडि गैरआवासीय नेपाली युवाको सहभागिता र उहाँहरूले कस्तो योगदान दिन सक्नहुन्छ भन्ने विषयमा मन्त्रीज्यूलाई प्रस्तुति दिन उहाँहरूले बोलाउनुभएको हो,' रिमालले भने, 'मिल्छ भने न्यूयोर्कका नयाँ युवा मेयरलाई पनि भेटाउने कुरा छ।'
अमेरिकामा मन्त्री गुप्ता मात्र जाने र साथमा अरू कोही लैजाने कार्यक्रम नभएको पनि रिमालले बताए।