ऐतिहासिक पदक विजेता खेलाडी एरिका गुरुङ सहितको टोली डब्लूकेएफ कराते वान प्रिमियर लिग खेल्न टर्कीको इस्तानबुल प्रस्थान गर्दैछ।
विश्व कराते महासंघले आयोजना गर्ने यो प्रतियोगिता सन् २०२६ को कराते वान प्रिमियर लिग सिजनको पहिलो चरण हो। यो प्रतियोगिता जनवरी २३ देखि २५ सम्म इस्तानबुलमा हुनेछ।
एरिका गुरुङ महिला +६८ केजी कुमुते तौल समूहमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछिन्। एरिका नेपाली कराते इतिहासकी सबैभन्दा सफल खेलाडी हुन्।
उनले १९औँ एसियाली खेलकुद मा नेपाललाई पहिलो ऐतिहासिक रजत पदक दिलाएकी थिइन्। यसअघि उनले मोरक्कोको कराते वान प्रिमियर लिगमा कास्य पदक (२०२५) जितेकी थिइन् भने मलेसियाको कराते वान सिरिज एमा स्वर्ण पदक पनि हासिल गरिसकेकी छिन्।
विश्वका शीर्ष खेलाडीहरू सहभागी हुने यो प्रतियोगितामा उनको सहभागितालाई नेपाली करातेका लागि महत्वपूर्ण अवसर मानिएको छ।
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले टोलीको नेतृत्व गर्दैछन्। प्रतियोगितामा अन्तर्राष्ट्रिय रेफ्री तारा गुरुङ को सहभागिता हुँदैछ। एशियन कराते महासंघ अन्तर्गत कुमुते रेफ्री A ग्रेड प्राप्त तारा यसअघि पनि रेफ्रीको भूमिकामा रहिसकेकी छिन्।
इस्तानबुलमा उनी नेपाली टोलीको टिम अफिसियलका रूपमा पनि रहनेछिन्। नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल कराते महासंघका महासचिव दावा गुरुङले टोलीलाई आज औपचारिक रूपमा बिदाइ गरे।
प्रतियोगिता समाप्त भएपछि नेपाली टोली बेलायतको ९ औं हार्लो ओपन कराते च्याम्पियनसिप र सेमिनारमा सहभागी हुन प्रस्थान गर्नेछ। त्यहाँ एरिका गुरुङका साथै नेलि जोशी र प्रज्वलन यामातो श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्।
ग्रीसका विश्व र्याङ्क ३ का खेलाडीले विशेष सेमिनार दिनेछन् भने तमु धि: यूकेले एरिका गुरुङलाई विशेष सम्मान गर्ने कार्यक्रम पनि तय भएको छ। यूकेमा तारा गुरुङले अन्तर्राष्ट्रिय रेफ्रीको जिम्मेवारी निर्वाह गर्नेछिन्।