नेपाल स्पोर्ट्स समिट कमिटीले आधिकारिक रूपमा नेपाल स्पोर्टस समिट २०२६को घोषणा गरेको छ। यो समिट यहि माघ २२ गते सोल्टी होटलमा आयोजना हुनेछ।
यस समिटमा नेपालका खेल क्षेत्रका नीतिगत, पूर्वाधार, सज्यार, डिजिटल सामग्री तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयहरू समेट्दै पाँच प्यानल छलफल शत्रहरू सञ्चालन गरिनेछन्।
जसमा खेल कूटनीति विषयमा खेलमार्फत विश्वव्यापी सम्बन्ध सुदृढीकरण, नेपालको खेल पूर्वाधार इकोसिस्टम निर्माण, उदीयमान खेलहरूको उदय मुख्यधारासम्म, खेलमा सञ्चार तथा प्रसारण खेल विकास र मोनेटाइजेसनमा सञ्चार र कर्पोरेट भूमिकाहरू तथा खेल सामग्री तथा इन्फ्लुएन्सर डिजिटल खेल कथावाचनको शक्ति विषयमा छलफल शत्र सञ्चालन हुनेछन्।
प्रत्येक शत्रका प्यानलिस्टहरूको नाम नेपाल स्पोर्ट्स समिटका आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरू तथा प्रेस विज्ञप्तिहरूमार्फत सार्वजनिक गरिने आयोजकको भनाइ छ।
नेपाल स्पोर्ट्स समिट २०२६ का आयोजक आमिर अख्तरले भने, ‘नेपाल स्पोर्टस समिट २०२६ केवल एउटा कार्यक्रम मात्र होइन, यो खेल, कूटनीति, पर्यटन र आर्थिक विकासलाई एकीकृत गर्ने राष्ट्रिय अभियान हो। हाम्रो दृष्टिकोण नेपालको खेल इकोसिस्टमलाई विश्वव्यापी अवसरहरूसँग जोड्दै अन्तर्राष्ट्रिय सहकार्यमार्फत देशको खेल भविष्यलाई रूपान्तरण गर्नु हो।’
समिटका अर्का आयोजक भास्कर राजकर्णिकारले थपे, ‘समिटले नीति निर्माता, लगानीकर्ता, खेल नेतृत्व र विश्व संस्थाहरूबीच संरचित संवादको वातावरण सिर्जना गर्नेछ। नेपालसँग प्राकृतिक लाभ, युवा ऊर्जा र अन्तर्राष्ट्रिय सद्भावना छ। समिटले यस सम्भावनालाई व्यावहारिक साझेदारी र दीर्घकालीन वृद्धिमा रूपान्तरण गर्नेछ।’