दक्षिण एसियाली खेलकुद (साग)को १४औं संस्करण पाकिस्तानमा मार्च २३ देखि ३१, २०२७ सम्म आयोजना हुने भएको छ।
यो निर्णय तास्कन्दमा भएको दक्षिण एसियाली ओलम्पिक परिवारको बैठकले गरेको हो।
पाकिस्तान ओलम्पिक एसोसिएसले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विस्तृत छलफलपछि बैठकले सर्वसम्मतिले दक्षिण एसियाली खेलकुद मार्च २३ देखि ३१, २०२७ सम्म राख्ने निर्णय गरेको छ। साथै, सञ्चालन वा व्यवस्थापनका कारण आवश्यक परेमा पाकिस्तानले एक हप्तासम्मको लचकता राखेर मिति केही समायोजन गर्न सक्नेछ।’
सन् २०१९ मा नेपालमा १३औं संस्करण आयोजना भएपछि १४औं संस्करण को साग हुन सकिरहेको छैन। पाकिस्तानले आयोजनाको जिम्मा पाए पनि साग विभिन्न कारण स्थगित हुँदै आएको छ। पछिल्लो पटक २०२६ मा साग आयोजना गर्ने सहमति भएको थियो।
यो बैठक उज्बेकिस्तानको राजधानी तास्कन्दमा ओलम्पिक काउन्सिल अफ एसियाको ४६औं साधारण सभाको अवसरमा भएको थियो। बैठकको सुरुमा सबैले ओसिएको अध्यक्षमा निर्वाचित भएका शेख जोआन बिन हमद बिन खलिफा अल थानीलाई बधाई दिए। बैठकको अध्यक्षता ओसिएका दक्षिण एसिया उपाध्यक्ष प्रिन्स जिग्येल उग्येन वाङचुकले गरेका थिए।
बैठकमा बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काका राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष वा महासचिवहरू सहभागी थिए।
भारतको सहभागिता भने उसको सरकारको नीतिमा निर्भर रहनेछ। विगत केही वर्षयता राजनीतिक तनावका कारण भारतले पाकिस्तानमा खेल टोली पठाउने गरेको छैन।
पाकिस्तान ओलम्पिक एसोसिएसनका अध्यक्ष तथा दक्षिण एसिया ओलम्पिक काउन्सिलका अध्यक्ष अरिफ सईद र खेलकुद मन्त्रालयका संघीय सचिव मोहयुद्दिन अहमद वानी पनि बैठकमा सहभागी थिए।
सबै देशले खेलकुदका विधा र इभेन्टहरू गत वर्ष फेब्रुअरीमा लाहोरमा भएको कार्यकारी समितिको बैठकमा अन्तिम रूप दिइएकै अनुसार राख्ने सहमति गरेका छन्। यसबाहेक, दक्षिण एसियाली देशहरूले खेलकुदलाई अझ दिगो र भविष्योन्मुख बनाउने मोडेल विकास गर्न थप छलफल गर्ने सहमति गरेका छन्।
यसमा क्षेत्रीय सहयोग र बहु-खेलकुद आयोजनालाई प्रभावकारी बनाउनेमा जोड दिइएको छ।बैठकमा मोहयुद्दिनले दक्षिण एसियाली देशहरूलाई मे २०२६ मा पाकिस्तान भ्रमणको निम्तो दिएका छन्। त्यहाँ २०२७ का दक्षिण एसियाली खेलकुदको तयारीको प्रगति समीक्षा गर्ने, अनुगमन गर्ने र खेलकुदमा क्षेत्रीय सहकार्यलाई अझ बलियो बनाउने उद्देश्य छ।