दि एक्सेल्सियर स्कुलले राष्ट्रिय महिला फुटबल टोलीकी रेखा पौडेललाई बुधबार नगदसहित सम्मान गरेको छ ।
एक्सेल्सियरकै आयोजनामा बुधबारदेखि सुरु भएको १२ औं एक्सेल्सियर कपको उद्घाटनका अवसरमा रेखालाई नगद ४० हजारसहित सम्मान गरिएको हो ।
बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, एक्सेल्सियरकी अध्यक्ष शीतल राणा र एक्सेल्सियरका प्रबन्ध निर्देशक राम बस्नेतले रेखालाई सम्मान पत्र, मायाको चिनो र नगद प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।
‘नेपाली महिला फुटबल खेलको विकास, सशक्तिकरण र राष्ट्रिय पहिचान स्थापित गर्न विगत ८ वर्षदेखि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको अग्रपंक्ति खेलाडीका रुपमा अनुशासन, निरन्तर मेहनत र अतुलनीय योगदानसहित खेलप्रति पूर्ण समर्पित तपाईंले खेल मैदानमा देखाउनु भएको साहस, नेतृत्व र खेल भावना खेलकुद क्षेत्रमा मात्र नभइ सबैका लागि प्रेरणाको श्रोत बनेको छ। अतः खेलकुदलाई जित हार भन्दा माथि उठेर राष्ट्रको गौरव, एकता र आत्माविश्वासको प्रतीकको रुपमा चिनाउन सफल हुनु भएकोमा तपाईंको योगदानको उच्च कदर गर्दै र आगामी खेल जीवनको अझै उज्याले, सफल र प्रेरणादायी यात्राको शुभेच्छासहित हामी दि एक्सेल्सियर स्कुल परिवारको तर्फबाट सगौरव यो सम्मान पत्र प्रदान गरिएको छ ।’ रेखालाई प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ ।
बास्केटबल : एक्सेल्सियर र रिब्सको विजयी सुरुआत
आयोजक एक्सेल्सियर र रिब्सले १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा बुधबार विजयी सुरुआत गरेका छन् ।
एक्सेल्सियरले ह्वाइटफिल्डलाई १४–७ ले पराजित ग¥यो । एक्सेल्सियरको जितमा अकिना घिमिरेले १२ अंक योगदान गरिन्। सुप्रिया मल्लको १२ अंक सहयोगमा रिब्सले द चाँदबाग स्कुललाई २२–१२ ले हरायो ।
फुटसल
एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ मा बोधीवृक्षले बोधीसत्वलाई ५–०, लाइफ स्कुलले बोधीवृक्षलाई ११–० र एक्सेल्सियर (ब्लु) ले बाल दीक्षा सदनलाई १–० गोलले पराजित गरे ।
यु–१३ मा एक्सेल्सियर (यल्लो) ले बाल दीक्षा सदनलाई ४–० र रिब्सलाई ३–१ तथा रिब्सले बाल दीक्षा सदनलाई ४–२ गोलले हराए ।
स्वयम्भूस्थित आयोजकै हातामा भइरहेको प्रतियोगिताको यु–१६ मा बोधीसत्वले संस्कृतिलाई ३–० तथा एक्सेल्सियर (यल्लो) ले बाल दीक्षा सदनलाई १–० गोलले पाखा लगाए ।
प्रतियोगिताको खेलकुद मन्त्री नेपालले एक कार्यक्रमबीच उद्घाटन गरिन् । माघ २३ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत बास्केटबलको ३ विधामा २६ र फुटसलको ४ विधामा ५६ टिम गरी ८२ टिम सहभागी छन् ।