जापानको योकोहामामा सम्पन्न ११औँ सितोरियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, १ रजत र ३ कास्यसहित ६ पदक जितेको छ।
नेपालका लागि एरिका गुरुङ र राकेश मानन्धरले स्वर्ण पदक जिते। एरिकाले महिला ६८ केजीमाथिको तौल समूहमा स्वर्ण जित्दा राकेशले पुरुष ६० केजीमुनिको तौल समूहमा स्वर्ण हात पारे।
निरुपा दोङ तामाङले महिला ६८ केजीमुनिको तौल समूहमा रजत पदक जितिन्।
यस्तै, मिनबहादुर तामाङले पुरुष ६७ केजीमुनिको तौल समूहमा कास्य पदक जिते।
नेपालले टिम इभेन्टमा पनि दुई कस्य पदक जित्यो। महिला टिम कुमुतेमा एरिका गुरुङ, निरुपा दोङ तामाङ, मेघा लिम्बू, एलिसा रास्कोटी मगर र सानुमाया थिङको टोलीले कास्य जित्यो।
महिला टिम कातामा मेघा लिम्बू, एलिसा रास्कोटी र सानुमाया थिङको टोलीले कास्य पदक हात पार्यो।
यससँगै जापानमा भएको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले ६ पदकसहित प्रभावशाली प्रदर्शन गरेको छ।