पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानी टोलीले सेमिफाइनलमा स्थान बनाएको छ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई ३—१ को सेटले पराजित गर्दै इरानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
पहिलो सेट १४–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट पुनरागमन गर्दै २५–१७ को जित निकालेको थियो। तर, तेस्रो र चौथो सेटमा लय गुमाउन पुग्दा गण्डकी पराजित भयो। इरानी टोलीले तेस्रो सेट २५–१८ र चौथो सेट २७–२५ ले आफ्नो पक्षमा पार्यो।
इरानी टोलीले यसअघि शसस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटले पराजित गरेको थियो । समूह ‘ए’ अन्तर्गत अन्तिम खेल गण्डकी प्रदेश र एपिएफबीच हुनेछ । उक्त खेलको विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ ।
आजको दोस्रो खेल समूह ‘बी’ अन्तर्गत भारतीय टोली र त्रिभुवन आर्मी क्लबबीच हुँदैछ । यसअघि, हिजो भएको खेलमा भारतीय टोली नेपाल पुलिस क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्रदान गरिनेछ ।