नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको प्रशिक्षकबाट अलग हुने निर्णय गरेका जगदीश भट्टलाई पुरानै जिम्मेवारीमा फर्कन नेपाल भलिबल संघले आग्रह गरेको छ।
संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले यसअघि प्रशिक्षकबाट अलग हुने निर्णयमा पुनर्विचार गर्दै जिम्मेवारीमा फर्कन आग्रह गरेका हुन्।
पछिल्लो समय राष्ट्रिय भलिबल टोलीको खेलाडी छनोटको विषयमा कतिपयले प्रशिक्षक भट्टको आलोचना गरेका थिए। त्यसपछि भट्टले प्रशिक्षकबाट अलग हुने भन्दै फेसबुकमा लेखेका थिए।
यो विषयमा संघको भनाइ छ, 'छनोट प्रक्रियामा असहमती भए तर्कपूर्ण कारणसहित सम्बन्धित व्यक्ती, जिल्ला/प्रदेश भलिबल संघले विधिपूर्वक लिखित रुपमा जिम्मेवार निकाय नेपाल भलिबल संघमा निवेदन दिने पो होकि नकि एउटा व्यक्तिलाई मात्र दोषी देखाउने हो।'
संघले भट्टको प्रशिक्षणकालमा नेपालले पुरुष र महिला टिम गरी (स्वर्ण, कास्य र रजत) गरि जम्मा १३ अन्तर्राष्ट्रिय पदक दिलाउन सफल रहेको पनि उल्लेख गरेको छ।
'भट्टज्यू माथि राष्ट्रिय टिम छनोटको विषयलाई लिएर निहित स्वार्थ समूहले सामाजिक सञ्जालको प्रयोग गरी गलत प्रचारवाजी गरेका कारणबाट शारिरीक, मानसिक, सामाजिक, पारिवारिक रुपमा विचलित भइ केहि दिनअघि Facebook Status मार्फत् भलिबलका कुनै पनि कार्यक्रममा सहभागि नहुने घोषण गर्नुभएकोमा नेपाल भलिबल संघ परिवारले नेपाली भलिबलको विकासमा उहाँको भूमिकाको थप महशुस गरेकाले आफ्नो Facebook Status मार्फत गर्नु भएको घोषणामा पुर्नविचार गर्न आग्रह गर्दै यथाशिघ्र पुरानै जिम्मेवारीमा फर्कन अनुरोध गर्दछौ,' संघको भनाइ छ।
यसअघि गण्डकी प्रदेशका खेलाडी छनोटमा नपरेको भन्दै आरलोचना भएपछि भट्टले प्रशिक्षकको जिम्मेवारीबाट अलग हुने बताएका थिए।
‘भलिबल परिवारबाट पाएको असहयोग र पटकपटक खेप्नु परेको आलोचनाको पीडाले मेरो स्वास्थ्य अवस्था समेत बिग्रिएको छ। त्यसैले नकारात्मक, निराशावादी र स्वार्थी व्यक्तिहरूको झुन्डबाट अलग हुँदै अब बिश्राम लिने निर्णय लिएको छु,’ उनको भनाइ थियो।
भट्टले राष्ट्रिय टोलीबाट अलग हुने निर्णय गरे पनि राष्ट्रिय खेलकुद परिषदको तालिम तथा प्रशिक्षण विभाग अन्तर्गतको आफ्नो जिम्मेवारीमा भने रहने बताएका थिए।
कन्चनपुरका भट्ट विभागको उपनिर्देशक तथा भलिबलका मुख्य प्रशिक्षक समेत हुन्।
उनले महिला भलिबल टोलीलाई दुई पटक सेन्ट्रल जोन भलिबलको उपाधि जिताएका थिए भने साग गेम्समा रजत दिताउन महत्वपूर्ण भूमिका निभाएका थिए। पछिल्लो समय उनी पुरुष टोलीको प्रशिक्षक थिए।

