नेपाली राष्ट्रिय पुरुष भलिबल टोली हाल बंगलादेशमा हुने सेन्ट्रल एसियन भलिबल संघ (काभा) पुरुष नेसन्स कपमा पदक जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ।
काभा नेसन्स कप खेल्दै नेपाली टोली करिब दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किंदै छ। नेपालले आगामी अक्टोबर २२ देखि २८ सम्म बंगलादेशको ढाकामा हुने काभा पुरुष नेसन्स कप खेल्नेछ। यसको तयारीका लागि नेपाली टोलीले गत असोज २ गतेदेखि प्रशिक्षण गरिरहेको छ।
करिब एक महिनाको तयारीबाट नै नेपालले ६ राष्ट्रले प्रतिस्पर्धा गर्ने काभा नेसन्स कपमा पदक जित्ने लक्ष्य राखेको छ। टोलीको तयारी छोटो छ भने अधिकांश युवा खेलाडी छन्। लामो समयदेखि खेलिरहेका अनुभवी खेलाडीहरू पलायन भइसकेका छन्। त्यसैले टोलीमा अधिकांश युवा खेलाडीहरू छन्।
यसमा पनि टोलीले लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन।भरत यादवको मुख्य प्रशिक्षणमा नेपाली टोलीले राउन्ड रोबिन लिगमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
प्रशिक्षक भरतले दशैंअगाडि देखि नै प्रशिक्षण गर्दै आएको र तयारी राम्रो भएको बताएका छन्। उनले श्रीलंका, बंगलादेश र तुर्कमेनिस्तान सबैभन्दा बलियो टोली रहेको उल्लेख गरे। तर, पनि पदक जित्ने लक्ष्यसहित यी देशविरुद्ध खेल्ने प्रशिक्षक यादवको लक्ष्य छ।
लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाए पनि खेलाडीले नियमित घरेलु प्रतियोगिता खेल्ने पाएको उनी बताउँछन्। व्यक्तिगत रूपमा पनि क्षमतावान् खेलाडीहरू रहेकाले म्याच एक्सपोजरको कमी नदेखिने प्रशिक्षक यादवको विश्वास छ।
लगातार पाँच खेल्न सक्ने फिटनेस खेलाडीमा आएको प्रशिक्षकको दाबी छ।चाडपर्वको समय भए पनि खेलाडीहरू उत्साहित हुँदै देशको लागि केही गर्ने लक्ष्यमा रहेको प्रशिक्षक यादव बताउँछन्। देशमा जटिल परिस्थिति सिर्जना भए पनि नेपाल भलिबल संघले ठूलो आर्थिक भार उठाउँदै टोली पठाउने तयारी गर्नु नै रहेको प्रशिक्षक यादवको भनाइ छ।
टाइसिट सार्वजनिक भएलगत्तै नेपालले त्यहीअनुसार तयारी गरिरहेको उनी बताउँछन्। काभा यु–१९ मा राम्रो नतिजा ल्याएकाले पनि टोलीको मनोबल उच्च रहेको उनको विश्वास छ। ब्लक, रिसिभ र सर्भिसमा टोलीको तयारी गरिरहेको प्रशिक्षक यादव बताउँछन्।
अधिकांश नयाँ खेलाडी भएकाले सिनियर खेलाडी कोर्टभित्र गाइड गरिरहेको उनको भनाइ छ।नेपाल भलिबल संघ (एनभिए) ले शुक्रबार मात्र सामाजिक सञ्जालमार्फत लिफ्टर हरिहजुर थापालाई नेपाली राष्ट्रिय भलिबल टोलीको कप्तानमा पुनः जिम्मेवारी दिएको छ। विभागीय टोली त्रिभुवन आर्मीबाट व्यावसायिक भलिबल खेल्दै आएका हरिहजुरले पुनः नेपाली राष्ट्रिय टोलीको कप्तानीमा जिम्मेवारी पाएका हुन्।
दुई वर्षअघि उनले पहिलोपटक देशको कप्तानी गर्ने अवसर पाएका थिए। तर, अनुशासनहीन काम गरेपछि हरिहजुर एक महिनामै निलम्बनमा परे। त्यसपछि आर्मीकै मानबहादुर श्रेष्ठ नेपाली टोलीको कप्तानमा नियुक्त भए। तर, मानबहादुर अस्ट्रेलिया पलायन भएपछि नेपाली भलिबल टोली कप्तानविहीन थियो।
संघले काभा नेसन्स कपअगाडि नै हरिहजुरलाई जिम्मेवारी दिएको हो। उनै हरिहजुरले तयारी छोटो भए पनि अन्तिम चरण पुगेको उल्लेख गर्दै अझैँ प्रशिक्षण लामो अवधिको हुनुपर्ने बताए।
यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा कम्तीमा दुई महिनादेखि प्रशिक्षण गर्ने गरेको उनले उल्लेख गरेका छन्। कप्तान हरिहजुरले तयारी कम भएको र त्यसैले टिम सेट हुने तरिकाले मात्र प्रशिक्षण गरिरहेको बताएका छन्।
तर, आफ्नो टोली च्याम्पियन हुने लक्ष्यसहित तयारी गरिरहेको उनी बताउँछन्। उनले प्रतिद्वन्द्वी पनि त्यति बलियो नरहेको उल्लेख गर्छन्। यसपटक अनुभवी खेलाडी नहुँदा केही असहज हुने उनको बुझाइ छ।
युवा खेलाडीमा पनि आफू विश्वस्त रहेको उनी बताउँछन्।कप्तान हरिहजुरले पनि तुर्कमेनिस्तान, श्रीलंका र बंगलादेश बलियो टोली रहेको उल्लेख गरेका छन्। अन्य टोली भने आफ्नै स्तरको रहेको उनको बुझाइ छ। अधिकांश युवा खेलाडी रहेका कारण खुलेर खेल्न नसक्दा चुनौती हुन सक्ने कप्तान हरिहजुरले उल्लेख गरे।
युवा टोली हुँदा खेलमा हाबी हुँदा राम्रो प्रदर्शन हुने तर पछाडि परेको स्थितिमा दबाबमा पर्न सक्ने चुनौती कप्तान हरिहजुरले बताएका छन्।एनभिएको केन्द्रीय कार्यसमितिले प्रशिक्षक यादवकै सुझावमा टोलीको कप्तानीमा हरिहजुरलाई जिम्मेवारी दिएको हो।
नेपालले आगामी अक्टोबर २२ देखि २८ सम्म बंगलादेशको ढाकामा हुने सेन्ट्रल एसियन भलिबल संघ (काभा) पुरुष नेसन्स कप खेल्नेछ। नेपालले उद्घाटन खेलमा तुर्कमेनिस्तानसँग खेल्नेछ।
अक्टोबर २३ मा हुने दोस्रो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ। त्यसको एक दिनपछि माल्दिभ्ससँग खेल्ने तालिका छ। राउन्ड रोबिन लिगको चौथो खेलमा नेपालले एक दिनको आरामपछि अफगानिस्तानसँग खेल्नेछ। त्यसपछि अक्टोबर २७ मा नेपालले श्रीलंकासँग खेल्नेछ।
लिगको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछ। १८ सदस्यीय प्रारम्भिक टोलीबाट संघले यसअघि नै १४ सदस्यीय टोली घोषणा गरिसकेको छ।—न्युज एजेन्सी नेपाल