बंगलादेशमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरूष भलिबल प्रतियोगितामा नेपालले चौथो हार ब्यहोरेको छ।
सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग ३-० को सोझो सेटमा पराजय भोगेको हो।
६ राष्ट्र सहभागी प्रतियोगिताको आफ्नो पाँचौ खेलमा नेपालले कमजोर खेल देखायो। नेपालमाथि श्रीलंकाले २५-१८, २५-१७ र २५-२० को जित निकाल्यो।
यसअघि नेपालले अफगानिस्तान र तुर्कमिनिस्तानसँग पनि ३-० को सेटमा पराजय भोगेको थियो। बंगलादेशसँग ३-२ को हार ब्यहोरेको नेपालले पाँच खेल मध्ये एक खेलमा जित निकाल्ने क्रममा माल्दिभ्स ३-० को सेटले हराएको थियो।
समूह चरणमा पाँच हारसँगै नेपाल पाँचौ स्थानमा समिति रह्यो। अब नेपालले मंगलबार पाँचौ स्थानको प्लेअफमा माल्दिभ्ससँग खेल्नेछ।
आज श्रीलंकालाई हराउन सकेको भए नेपाल चौथो हुँदै तेस्रो स्थानको प्लेअफ खेल्ने सम्भावना थियो। प्लेअफ जितेको भए नेपालको पदक जित्ने अवस्था थियो। तर लगातार पराजयसँगै नेपाल पदकबिहीन हुने पक्का भएको हो।