कर्णाली यश्वीसले लगातार दोस्रो सिजन एभरेस्ट महिला भलिबल लिगको उपाधि जितेको छ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनल भिडन्तमा ललितपुर क्विन्समाथि ३-२ को सेटमा जित निकालेर कर्णाली च्याम्पियन बनेको हो।
अघिल्लो सिजन पनि कर्णालीले उपाधि जित्ने क्रममा ललितपुरलाई नै हराएको थियो।
शनिबार कर्णालीले पहिलो सेट २६-२४ ले जितेर विजयी सुरूवात गर्न सफल भयो। दोस्रो सेटमा २५-१७ ले विजयी भएसँगै कर्णाली २-० ले अघि रह्यो।
तर त्यसपछिका दुई सेटमा ललितपुरले पुनरागमन गर्न सफल भयो। ललितपुरले तेस्रो सेट २५-१३ ले जित्यो भने चौथो सेटमा २५-१७ को जित निकालेर खेललाई बराबरीमा ल्यायो।
त्यसपछि निर्णायक पाँचौ सेटमा कर्णाली हाबी बन्न पुग्यो। कर्णालीले १५-८ ले जितेर ट्रफी उचाल्न सफल भयो।
यसअघि भदौमा सुरु भएको लिग जेनजी आन्दोनलका कारण बीचैमा स्थगित भएको थियो। त्यसपछि यहि साता बाँकी खेल सकिएका हुन्।