साविक विजेता हेल्प नेपाल नवौं एनभिए महिला तथा पुरुष क्लब राष्ट्रिय भलिबल च्याम्पियनसिपको पुरुषतर्फ अन्तिम आठमा प्रवेश गरेको छ।
हेल्प नेपालले समूह ‘ए’ को खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा आइतबार राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा पाखा लगायो।
हेल्प नेपालले २५-१६, २५-१९ र २५-२२ को जित निकालेको हो।
यसअघि पहिलो खेलमा हेल्प नेपालले सशस्त्र प्रहरी बलको एपिएफ क्लबमाथि नै सोझो सेटमा जित निकाल्दा क्वाटरफाइनलमा स्थान पक्का गरेको हो।
यता महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबले अन्तिम चारमा स्थान पक्का गरेको छ।
लगातार दोस्रो जित निकालेर सेमिफाइनल पुग्ने क्रममा एपिएफले आइतबार समूह ‘बी’ मा सुदुरपश्चिमलाई ३-० ले हरायो। एपिएफले २५-६, २५-११ र २५-१२ ले जित निकालेको हो।
अघिल्लो खेलमा उसले मधेशलाई हराएको थियो। अब अन्तिम खेलमा उसले नेपाल पुलिस क्लबसँग खेल्नेछ।