नेपाल भलिबल संघले २०८३/८४ को लागि आफ्नो वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ।
जसमा १९ वटा कार्यक्रम समावेश गरेर संघले सोमबार पत्रकार सम्मेलनमार्फत् आफ्नो वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो।
भलिबलको कार्यक्रममा महिला र पुरुषको फ्रेञ्चाइज प्रतियोगितादेखि राष्ट्रिय खेलकुद र विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम समावेश छन्।
राष्ट्रिय खेलकुदअन्तर्ग सुर्खेतमा ३५औं राष्ट्रिय पुरुष तथा २५औं राष्ट्रिय महिला भलिबल हुनेछ।
यस्तै १० औं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनशिप, ११ औं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग पनि हुनेछन्।
७औं महिला तथा आठौं पुरुष राष्ट्रिय बीच भलिबल र यू-१९ महिला तथा पुरुष राष्ट्रिय भलिबल यो वर्ष हुनेछन्।
एभरेस्ट महिला र नेपाल भलिबल पुरुष फ्रेञ्चाइज लिग पनि यो वर्ष हुने कार्यक्रम छ।
२० औं एशियन गेम्स अन्तर्गत महिला भलिबल, काभा बीच भलिबल टुर (महिला/पुरुष), काभा महिला च्याम्पियन्स लिग, काभा पुरुष भलिबल च्याम्पियनशिप, काभा बीच भलिबल टुर, काभा यू१६ भलिबल च्याम्पियनशिप, काभा च्यालेन्ज कप (पुरुष), यू-१८ अन्तर विद्यालय भलिबल प्रतियोगिता, राष्ट्रिय रेफ्री कोर्स / रेफ्रेसर कोर्स, कोचेज कोर्स, मैत्रीपूर्ण खेल (महिला/पुरुष) र थ्री नेसन्स कप पनि हुने महासचिव रोशन श्रेष्ठको भनाइ छ।
