अमेरिकी फुटबलय क्लब इन्टर मायमीका स्टार खेलाडी लिओनल मेसीको चोटलाई लिएर विश्वभरका फुटबल प्रेमीहरूमा रहेको चिन्ता अब हटेको छ।
क्लबले सोमबार मेसीको स्वास्थ्य परीक्षणको रिपोर्ट सार्वजनिक गर्दै उनलाई कुनै गम्भीर चोट नलागेको स्पष्ट पारेको छ।
फिलाडेल्फिया युनियन विरुद्धको ६-४ को रोमाञ्चक जितका क्रममा मेसी ७३औँ मिनेटमा मैदानबाट बाहिरिएपछि धेरैले उनलाई गम्भीर चोट लागेको आशंका गरेका थिए। तर, मेडिकल रिपोर्टले मेसीलाई कुनै 'इन्जुरी' नभई केवल ‘मांसपेशीको थकान’ मात्र भएको देखाएको छ। धेरै खेलको चापका कारण उनको देब्रे खुट्टाको मांसपेशीमा केही दबाब परेको क्लबले जनाएको छ।
आइतबारको खेलमा दुईवटा गोलको अवसर सिर्जना गरिसकेका मेसीले ७३औँ मिनेटमा फ्रि-किक प्रहार गरेपछि आफ्नो खुट्टा समातेका थिए। उनी तुरुन्तै मैदानबाट बाहिरिएर सिधै ड्रेसिङ रुमतिर लागेका थिए। तर, उनी कसैको सहारा बिना सामान्य रूपमा हिँडेर बाहिरिएको देख्दा धेरैले उनी फिट रहेको अनुमान गरेका थिए।
इन्टर मायमीका प्रशिक्षक गुइलेर्मो होयोसले भने, ‘मेसी साँच्चै थकित थिए। मैदान पनि अलि भारी (हिलो वा गाह्रो) थियो। यस्तो अवस्थामा कुनै पनि प्रकारको जोखिम लिनु उचित हुँदैन, त्यसैले हामीले उनलाई आराम दिएका हौँ।’
आगामी जुन ११ देखि अमेरिका, क्यानडा र मेक्सिकोमा सुरु हुने विश्वकपको मुखमा मेसीको स्वास्थ्य अर्जेन्टिनाका लागि निकै महत्त्वपूर्ण छ। ३८ वर्ष पुगिसकेका मेसीले यस पटक छैटौँ पटक विश्वकप खेल्दै नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ। अर्जेन्टिनाको विश्वकप टोली अर्को हप्ता घोषणा हुँदैछ र उनीहरूको पहिलो खेल जुन १६ मा अल्जेरिया विरुद्ध हुनेछ।
सन् २०२३ मा मायमी आएदेखि मेसीले आफ्नो स्वास्थ्यको निकै ख्याल गरिरहेका छन्। यस सिजनमा पनि उनले १४ खेलमा १२ गोल र ८ असिस्ट गर्दै आफ्नो उत्कृष्ट लय जारी राखेका छन्। अघिल्लो सिजन २०२५ मा उनले २८ खेलमा २९ गोल र १९ असिस्टको सानदार कीर्तिमान बनाएका थिए।
अहिलेका लागि मेसीको अवस्था सामान्य छ र उनी छिट्टै मैदानमा फर्कने अपेक्षा गरिएको छ। अर्जेन्टिनी समर्थकहरू अब ढुक्क भएर विश्वकपको प्रतीक्षा गर्न सक्छन्।