फिफा विश्वकप २०२६ को समूहको पहिलो चरणका खेल सकिएका छन्।
अमेरिका, मेक्सिको र क्यानडामा ४८ टोलीबीच भइरहेको अहिलेसम्मकै ठूलो विश्वकपको पहिलो चरणमा २४ वटा खेल भए। पहिलो चरणमा दाबेदार मानिएका कतिपय टोलीको प्रदर्शन उत्कृष्ट रह्यो भने कतिपय टोलीले अपेक्षाकृत खेल्न सकेनन्।
ब्राजिलले अफ्रिकाकै बलियो टोली मोरक्कोसँग एक-एक गोलको बराबरी खेल्नुलाई नराम्रो मान्न सकिन्न। जर्मनीले नवप्रवेशी टोली कुरासाओमाथि ७-१ गोलको जित निकाल्नुका पछाडि धेरै कारण छन्।
यता अर्को नवप्रवेशी केप भार्डेले युरो कपको साबिक विजेता तथा दाबेदार टोली स्पेनलाई गोलरहित बराबरीमा रोक्यो। खेलमा केप भार्डेका गोलकिपर भाजिन्हा नायक सावित बन्दा स्पेनका फरवार्ड फिनिसिङमा चुकेको स्पष्ट देखिन्थे। यसबाहेक स्पेन बराबरीमा रोकिनुका कारण के के छन्?
साबिक विजेता अर्जेन्टिनाले अल्जेरियामाथि ३-० गोलको जित निकाल्दा कप्तान लिओनल मेसीले ह्याट्रिक पूरा गरे। उत्कृष्ट लयमा देखिएका मेसीले ह्याट्रिक गर्दा आधा दर्जन मुख्य रेकर्ड बनाए।
फ्रान्सले सेनेगलमाथि ३-१ गोलले हराउँदा केलियन एमबाप्पेले दुई गोल गरे। एमबाप्पेको फिनिसिङ लोभलाग्दो थियो। नर्वेले इराकमाथि ४-१ गोलको जित निकाल्दा अर्लिङ हाल्यान्डले दुई गोल गर्दै आफ्नो विश्वकपमा गोलको भोक पूरा गरे।
तर क्रिस्टियानो रोनाल्डोका फ्यानका लागि पहिलो चरणको खेल सुखद रहन सकेन। पोर्चुगल अफ्रिकी टोली डीआर कंगोसँग एक एक गोलको बराबरीमा रोकियो। इंग्ल्यान्डले पनि दमदार सुरूआत गर्ने क्रममा क्रोएसियालाई ४-२ गोलले हरायो।
जारी विश्वकपमा नयाँ नियम, भारको प्रयोग र एसियन टोलीका राम्रो प्रदर्शन पनि चर्चाका रहे।
यिनै विषयमा सेतोपाटीका प्रेम ढकाल र सीताराम कोइरालाले गरेको विस्तृत विश्लेषण हेर्नुहोस् —