फिफा विश्वकप २०२६ को समूहको दोस्रो चरणका खेल सकिएका छन्।
अमेरिका, मेक्सिको र क्यानडामा ४८ टोलीबीच भइरहेको अहिलेसम्मकै ठूलो विश्वकपको दोसो चरणमा २४ वटा खेल भए। अहिलेसम्मको खेल हेर्दा दाबेदार मानिएका कुनै पनि टोली समूह चरणबाट बाहिरिने देखिँदैन।
पहिलो चरणमा अपेक्षाकृत राम्रो खेल्न नसकेका केही दाबेदार टोलीले पनि दोस्रो चरणमा राम्रो प्रदर्शन गरेका छन्।
मोरक्कोसँग एक-एक गोलको बराबरी खेलेको ब्राजिलले दोस्रो चरणमा हैटीलाई ३-० ले हराएको छ। त्यस्तै, नवप्रवेशी केप भार्डेसँग बराबरी खेलेको साबिक विजेता स्पेनले दोस्रो खेलमा साउदी अरबलाई ४-० ले पराजित गरेको छ।
साबिक विजेता अर्जेन्टिनाले अल्जेरियामाथि ३-० गोलको जित निकाल्दा ह्याट्रिक गरेका कप्तान लिओनल मेसीले अष्ट्रियासँगको दोस्रो खेलमा पनि दुई गोल गरेका छन्।
पहिलो खेलमा सेनेगललाई ३-१ गोलले हराउँदा दुई गोल हानेका केलियन एमबाप्पेले इराकसँगको जीतमा पनि दुई गोल गरेका छन्।
त्यस्तै, इराकसँग दुई गोल हानेका नर्वेका अर्लिङ हाल्यान्डले सेनेगललाई पनि दुई गोल हानेका छन्।
पहिलो चरणको खेलमा चम्कन नसकेका क्रिस्टियानो रोनाल्डोले दोस्रो खेलमा भने आफ्ना करोडौं फ्यानलाई खुसी पारेका छन्। अफ्रिकी टोली डिआर कंगोसँग एक-एक गोलको बराबरी खेलेको पोर्चुगलले दोस्रो खेलमा उज्बेकिस्तानलाई ५-० ले हराएको छ। उक्त खेलमा दुई गोल हानेका रोनाल्डोले विश्वकपको लगातार छ संस्करणमा गोल गर्ने कीर्तिमान बनाएका छन्।
यिनै विषयमा सेतोपाटीका मनोज सत्याल र प्रेम ढकालले गरेको विस्तृत विश्लेषण हेर्नुहोस् —