साफ च्याम्पियनसिप २०२१ को उपाधिका लागि अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ।
माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
पहिलो हाफमा भारतका अनिरुद्ध थापा र सुनील क्षेत्रीले गोल गर्न गरेको प्रयासमा नेपालका गोलकिपर किरणकुमार लिम्बू बाधक बनेका छन्। किरणले दुवैको प्रहारलाई विफल पारेका छन्।
नेपालका नवयुग श्रेष्ठले पनि पहिलो हाफमा डिबक्समा अवसर पाए पनि सदुपयोग गर्न सकेनन्।
मालेमा भारी वर्षा भइरहेकाले दुवै टिमका खेलाडीलाई खेल्न असहज भइरहेको छ।
नेपालले भारतलाई सन् २०१३ देखि हराउन सकेको छैन। सन् २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो। त्यसयता भारतविरुद्ध खेलेका ८ मध्ये नेपाल ६ खेलमा पराजित भएको छ भने २ खेल बराबरीमा सकिएका छन्।
सन् १९९३ मा पाकिस्तानको लाहोरमा पहिलो संस्करणको साफ च्याम्पियनसिप भएको थियो। त्यसयता साफका १२ संस्करण सम्पन्न भइसकेका छन्।
१२ संस्करणमध्ये भारतले ७ पटक उपाधि जितेको छ। माल्दिभ्सले दुई पटक उपाधि जित्दा अफगानिस्तान, श्रीलंका र बंगलादेशले एक-एक उपाधि जितेका छन्।
सन् २००५ देखि साफ खेलेको आफगानिस्तानले २०१५ मा अन्तिम पटक साफ खेलेको थियो। अफगानिस्तानले मध्य एसिया फुटबल महासंघमा आबद्ध हुन साफ छाडेको थियो।
नेपाल, पाकिस्तान र भुटानले भने उपाधि जित्न सकेका छैनन्।