गायक तथा लेखक गणेश रसिकका पाँच पुस्तकको पेरुङ्गो संस्करण सार्वजनिक भएकाे छ।
शनिबार प्रज्ञा प्रतिष्ठानमा भएकाे कार्यक्रममा भैरव थापा, उर्मिला श्रेष्ठ, केदारभक्त माथेमा, रायन र रसिकले पुस्तक सार्वजनिक गरेका हुन्।
यो पेरुङ्गोमा 'छपक्कै मनमा बसेकाहरु (व्यक्ति संस्मरण)' र 'ताराभन्दा सपना धेरै (गीत संग्रह)' नयाँ कृति हुन् भने 'दशगजमा उभिएर', 'मुनिया र उसको छोरो' र 'आकाशगंगाका ओतमुनि'लाई सांग्रिला बुक्सले पुनः प्रकाशन गरेको हो।
२०२४ सालमा स्थापना भएकाे चर्चित सांगीतिक समूहकाे नेतृत्व गरेका रसिकबारे साेही समूहका सदस्य हिरण्य भोजपुरेले भने, ‘रसिकजी र मेरो केही मिल्दैन। म टोपी नलगाउने, उहाँलाई मैले बिना टोपी देखेकै छैन। म ताल परे कट्टु (हाफपाइन्ट) पनि लगाउँछु, उहाँले जिन्स लगाएको देखेको छैन।’ उनले बीसको दशकमा भएको कविता प्रतियोगितामा आफू तृतीय, उर्मिला श्रेष्ठ द्वितीय र रसिक प्रथम भएकाले लेकाली समूहमा को प्रतिभाशाली छ भन्ने कुरा बुझ्न सकिने बताए।
प्राध्यापक केदारभक्त माथेमाले ‘दशगजामा उभिएर’ कृतिमा रसिकको सरलताले आफूलाई छोएको बताए भने ‘छपक्कै मनमा बसेकाहरु’ ले रसिकको स्मरण शक्ति र ससना विवरणको प्रस्तुती बेजोड रहेको बताए।
‘रसिकजीको लेखनमा कतै तिक्तता छैन । राल्फाबाट छुट्टिनुको दोष पनि उहाँ आफैलाई दिनुहुन्छ।’ माथेमाले रसिकमा कत्ति पनि अहम् नभएको बताउँदै भने।
समालोचक तथा कवि डा. गीत त्रिपाठीले भनिन्,‘छपक्कै मनमा बसेकाहरु करुणा र संवेदनाको बेजोड कृति हो।’ उनले याे कृति रक्सी र चुरोटको पुरुष सर्जकसँगको समाजशास्त्रीय सन्दर्भ बुझ्न निकै महत्वपूर्ण कृति बताइन्।
धेरैजसो पुरुष सर्जकहरु रक्सी र चुरोटको लतमा डुबेर अकालमै मृत्यू भएकोले कृतिले त्यो पक्षमा पनि पाठकको ध्यान आकृष्ट गर्ने उनको भनाइ थियो।
कवि प्रणिका कोयूले रसिकका गीतहरुले उचित न्याय नपाएको भन्दै अल्प जानकारी र पूर्वाग्रही सोचले रसिकले लेखेका गीत अरुका नाममा छापामा आउँदा त्यसले ननिको लागेको बताइन्।
पुस्तक लेखिसकेपछि आफूले भन्नुपर्ने कुरा बाँकी नरहेको बताउँदै कार्यक्रमको अन्त्यमा रसिकले सबैलाई धन्यवाद दिए। रसिकका सम्पूर्ण पुस्तकको "पेरुङ्गो संस्करण" सांग्रिला प्रकाशनले प्रकाशित गरेकाे हाे।