अभिनेत्री निशा अधिकारीले प्रतिनिधिसभा चुनाव लड्दाको खर्च र आम्दानी विवरण सार्वजनिक गरेकी छन्। उनले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार चुनावमा ७ लाख ७६ हजार ९२१ रूपैयाँ खर्च भएको उल्लेख छ।
विवरणअनुसार सबभन्दा धेरै सामाजिक सञ्जाल विज्ञापन र डिजाइनमा खर्च भएको देखिन्छ। यो शीर्षकमा २ लाख ५० हजार रूपैयाँ खर्च भएको उल्लेख छ। त्यस्तै, स्वयंसेवकको खाजा, खाना, यातायात खर्च र निर्वाचन कार्यक्रम लगायत शीर्षकमा १ लाख २९ हजार ७०७ रूपैयाँ खर्चिएकी छन्। कार्यलय संचालनमा १ लाख १७ हजार रूपैयाँ खर्च भएको उल्लेख गरेकी छन्।
आम्दानीतर्फ पनि ७ लाख ७६ हजार ९२२ रूपैयाँ उल्लेख छ। आफ्नो दल गतिशिल लोकतान्त्रिक पार्टीको तर्फबाट २ लाख, व्यक्तिगत सहयोगहरू २४ जनाबाट प्राप्त ५ लाख ४९ हजार ६७ र उम्मेदवारको तर्फबाट २७ हजार ८८५ रूपैयाँ उल्लेख छ।
निशाले आम्दानी र खर्चको विवरण फेसबुकमा सार्वजनिक गर्दै चुनावी अभियान सञ्चालन गर्दा सकेसम्म कम खर्चिलो, तडकभडक बिना र पारदर्शी हिसाबले अभियान चलाउने प्रयास गरेको बताएकी छन्।
निशाले लेखेकी छन्, 'अभियानमा ठूलो खर्च र प्रदर्शनभन्दा पनि एजेण्डा, संवाद र नागरिकसँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिइएको थियो। घरदैलो, साना भेटघाट र खुला छलफलमार्फत राजनीति गर्ने प्रयास गरिएको थियो।'
निशा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनाव लडेकी थिइन्। चुनावमा पराजित निशा यतिबेला भने फिल्म 'कस्तुरी' को छायांकनमा ब्यस्त छिन्। यो फिल्ममा उनी अभिनेता निखिल उप्रेतीसँग देखिनेछिन्।