यस वर्षको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा राजेशप्रसाद खत्रीद्वारा निर्देशित नेपाली सर्ट फिल्म ‘जुलुङ्गो (अ स्केयर-क्रो)’ छनोट भएको छ। ‘जुलुङ्गो’ बुसानको ‘वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिसन’ अन्तर्गत छनोट भएको हो।
बुसानले सोमबार सार्वजनिक गरेको सूचीअनुसार एसियन सर्टमा प्रतिस्पर्धामा ‘जुलुङ्गो’ छनोट भएको हो। यसअघि नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ मुख्य प्रतिस्पर्धामा छनोट भइसकेको छ। ‘जुलुङ्गो’ सँगै यस वर्ष बुसानमा दुई नेपाली फिल्म छनोट भएका छन्।
कोरियाको प्रतिष्ठित एसियाली फिल्म फेस्टिभल बुसानमा छनोट भएपछि निर्माण टोलीले बिहिबार ‘जुलुङ्गो’को पोस्टर सार्वजनिक गरेको छ।
‘वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिसन’ प्रतिस्पर्धाका लागि १० एसियाली फिल्म छनोटसँगै जुलुङ्गो पनि परेको हो । नेपाल, फ्रान्स र हङकङको संयुक्त निर्माणमा बनेको यस फिल्मका निर्माता र भाम (नेपाल), क्याथरिन डसार्ट (फ्रान्स) र शुक फोङ चोक (हङकङ) हुन्।
यस सेक्सनमा नेपालसहित इरान, भियतनाम, मलेसिया, फिलिपिन्स, भारत, मंगोलिया, कम्बोडिया, बंगलादेशको फिल्म प्रतिस्पर्धाका लागि छानिएका छन्। छानिएका अधिकांश फिल्म अन्तर्राष्ट्रिय सहकार्यमा निर्माण भएका छन्। यस सेक्सनको विजेताले ‘सोन्जी अवार्ड’ का साथै १० हजार अमेरिकी डलर (करिब ११ लाख ७० हजार) पाउनेछन्।
मुगुको परिवेशमा एक बालिकाले आफ्नो पढ्ने रहरलाई आफैंभित्र राखेर घरायसी काममा सीमित राख्नुपर्ने बाध्यता नै जुलुङ्गोको कथावस्तु हो। पश्चिममा ‘भ्याउना’ भनेर भनिने जुलुङ्गोको अर्थ बाली–नाली रक्षा गर्न राखिने मान्छे आकृतिको बुख्याँचा भन्ने हुन्छ।
बुख्याँचा बनाउने जिम्मा पाएपछि आमालाई सहयोग गर्नुपर्ने कारणले स्कुल जानबाट बञ्चित भएकी नानीको कथा हो जुलुङ्गो।
‘बालदिवसको विशेष कार्यक्रमका लागि नृत्य प्रशिक्षण लिँदालिँदै कक्षाकोठाबाटै आमाले हात समाएर नानीलाई घर फर्काएपछि उसको पढ्ने सपना निमोठिन्छ। त्यसपछि एकातिर बालदिवसको चर्को नारा घन्किन्छ भने आर्कोतिर नानी आफ्नो परिवारको लागि खेतमा पसिना बगाउन बाध्य हुन्छे,’ कथा विषयवस्तुबारे निर्देशक राजेशले बताए।
मुगुको दुर्गम गाउँका शिक्षक समेत रहेका निर्देशक राजेशप्रसाद खत्री आफ्नै वरिपरिका दुःख साट्न फिल्म निर्माणको हुटहुटी रहेको बताउँछन्।
उनले भने, ‘विद्यार्थीसँग मेरो गहिरो आत्मियताका कारण उनीहरूका व्यक्तिगत अनुभव र मेरो अवलोकनका उपज हुन् मैले प्रस्तुत गर्ने कथा।’
उनको यसअघिको फिल्म ‘जालगेडी’ पनि मुगुकै परिवेशमा बनेको थियो, जसले थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्ड पाएको थियो।
सिडिपी, आरु प्रोडक्सन, अस्लेसा इन्टरटेमेन्ट, ग्रिन एज फिल्मस् प्रोडक्सनसँगको सहकार्यमा शून्य फिल्मसले निर्माण गरेको फिल्मको सिनेमाटोग्राफी शिशिर बिसांखेले गरेका हुन्। त्यस्तै असिम खनालको सहायक निर्देशन रहेको जुलुङ्गोको किरण श्रेष्ठको सम्पादन, किशोर आचार्यको साउण्ड डिजाइन रहेको छ।
फिल्मा मुगुकै स्थानीय कविता बुढा, राधिका मल्ल, तारादेवी मल्ल, कविराज भाम लगायतको अभिनय देख्न सकिन्छ।