पूर्व मिस नेपाल शृंखला खतिवडा अमेरिकाको हावर्ड विश्वविद्यालयमा स्नातकोत्तर गर्न जाने भएकी छन्। उनले आगामी अगस्ट महिनामा अध्ययनका लागि अमेरिका जान लागेको जानकारी दिइन्।
आर्किटेक्चरमा स्नातक गरेकी खतिवडाले सहरी विकासमा स्नातकोत्तर गर्न लागेकी हुन्। उनले लकडाउन ताका फेरि थप अध्ययन् गर्ने रूची जागेको भन्दै गत जनवरीमा आवेदन दिएको सेतोपाटीलाई जानकारी दिइन्।
विश्वकै प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन् गर्न पाउनु जीवनको सबैभन्दा ठूलो सफलता रहेको उनले सुनाइन्। उनले सुरुमा आफूलाई हावर्डमा सक्छु भन्ने नलागेको भन्दै लकडाउनको फुर्सदमा भने पढ्न इच्छा लागेकाले जसरी पनि आट्छु भनेर लागेको बताइन्।
'आट्यो भने सकिन्छ नि भन्ने लाग्यो। त्यसका लागि धेरै अध्ययन् र अनुसन्धान गरेँ नभन्दै दुई महिनामै काम भयो,' उनले भनिन्।
दुई वर्षको कोर्स रहेको भन्दै उनले पढाइपछि भने नेपाल नै फर्किने बताइन्।
उनले केही समयअघि मात्र नेपालमै 'गाथा' नामक कम्पनी सञ्चालनमा ल्याएकी थिइन्।
यो पनि हेर्नुहोस्