प्रेम कथानक फिल्म 'कुमारी' को प्रवद्र्धनका लागि देशव्यापी लाइभ कन्सर्ट हुने भएको छ।
फिल्म र लाइभ संगीतलाई एउटै मञ्चमा जोडेर 'कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा' हुने भएको हो।
बिहीबार काठमाडौंका आयोजित कार्यक्रमकाबीच प्रोमो सार्वजनिक गर्दै कन्सर्टबारे जानकारी दिइएको हो।
आयोजित कार्यक्रममा फिल्मका पाश्र्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड 'केहर एन्ड द लुङा' ले फिल्मका गीतमा प्रस्तुति दिएको थियो।
बिग मार्टको प्रस्तुति तथा किङ्स हिल प्रिमियमको पावरमा आयोजना हुने यस एकीकृत प्रमोशनल टुरमा ब्यान्डसहित फिल्मका प्रमुख कलाकारहरू अबिशेक खड्का, आकृति राजभण्डारी तथा निर्देशक दिनेश राउतसहितको समूह रहनेछ।
नेपालगन्ज, पोखरा, चितवन, काठमाडौं र दमकमा लाइभ म्युजिकल कन्सर्ट आयोजना गरिनेछ। जसअन्तर्गत माघ १ गते नेपालगन्ज, माघ ३ गते पोखरा, माघ ६ गते चितवन, माघ ९ गते काठमाडौं र माघ १७ गते दमकमा लाइभ कन्सर्ट आयोजना हुने भएको हो। काठमाडौंको कन्सर्टमा फिल्म 'कुमारी' को ट्रेलर सार्वजनिक गरिने पनि आयोजकले जनाएको छ।
हाल यस फिल्मको गीत 'डोको बुन्ने निगालो चोयाले' चर्चित बनेको छ। यस गीतमा स्वर केहर सिंह लिम्बु, शब्द सागर लामिछाने मगर र सुमन तामाङ, तथा संगीत सुमन तामाङ र केहर सिंह लिम्बुको छ। बिहीबारको कार्यक्रममा केहरले 'डोको बुन्ने' र फिल्मको अर्को गीत 'कता छौ मेरो फूल' प्रस्तुत गरेका थिए।
देशव्यापी लाइभ कन्सर्ट टुरमार्फत फिल्म र संगीतलाई एउटै उत्सवमा रूपान्तरण गर्ने उद्देश्यसहित कार्यक्रम गरिएको निर्देशक दिनेश राउतले बताए। फिल्मको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् भने निर्माता महेन्द्र अधिकारी हुन्।
'कुमारी' आगामी माघ २३ गतेदेखि प्रदर्शनमा आउने तयारी छ।