चर्चित बलिउड अभिनेता संजय दत्तले नेपाली कलाकारहरूसँग भेटघाट गरेका छन्।
अभिनेता प्रदीप खड्का, सन्दीप क्षेत्री, अभिनेत्री नीति शाह, गायिका स्मिता दाहाल लगायतले बिहीबार संजयसँग भेट गरेका हुन्।
कलाकारहरूले संजयसँग भेटका तस्बिर सामाजिक सञ्जालमा साझा गरेका छन्।
सन्दीप क्षेत्रीले 'बाल्यकालको हिरो' भन्दै संजयसँगको भेटको तस्बिर र भिडिओ पनि सेयर गरेका छन्।
त्यस्तै, प्रदीपले केही तस्बिर राख्दै 'बत्तीहरू पूर्ण रूपमा राम्रो नभएपनि त्यहाँको माहोल अद्भूत थियो' भनेर लेखेका छन्। नीति शाहले पनि क्याप्सनसहित संजयसँगका केही तस्बिर साझा गरेकी छन्।
गायिका स्मितासँग पनि संजयले भेटेका छन्। उनले गत वर्ष स्मिताको विवाहमा भिडिओ सन्देश नै जारी गरेर शुभकामना दिएका थिए।
संजय दत्त क्यासिनो उद्घाटनका लागि बिहीबार काठमाडौं आएका थिए। त्यहीक्रममा बिहीबार नै कलाकारहरूले संजयलाई भेटेका हुन्।
संजयले शुक्रबार दिउँसो पशुपतिनाथ दर्शक गरेका छन्। उनी आजै दिल्ली फर्किने तयारी रहेको बताइएको छ।
संजय अभिनीत 'धुरन्धर' ले नेपालमा समेत १० करोड कमाइ गरिसकेको छ। उनको अर्को फिल्म 'राजा साब' शुक्रबारदेखि नेपालमा समेत प्रदर्शनमा आएको छ।
