निर्देशक दीपेन्द्र लामा 'चलचित्र समीक्षक समाज नेपाल' (फिक्सन) को अध्यक्षमा चुनिएका छन्। काठमाडौंमा शुक्रबार सम्पन्न साधारण सभाले लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
सञ्चारमाध्यममा चलचित्र समीक्षा गर्नेहरु सदस्य रहेको समीक्षक समूह ‘फिक्सन’ नेपाल पत्रकार महासंघमा आबद्ध एसोसियट संस्था पनि हो।
पत्रकार महासंघका कोषाध्यक्ष राजेश मिश्रको उपस्थितिमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा सामीप्यराज तिमल्सेना र स्मृति ढुंगाना, महासचिवमा सजना बराल, सचिवमा विष्णु शर्मा र केदार श्रेष्ठ तथा कोषाध्यक्षमा प्रभाकर गौतमलाई निर्वाचित गरेको छ।
केन्द्रीय सदस्यमा लेनिन बञ्जाडे, नरेश फुयाल, अभिमन्यु दीक्षित र रक्षा थापा चयन भएका छन्। महासंघका कोषाध्यक्ष राजेश मिश्र तथा निवर्तमान अध्यक्ष यज्ञशले नयाँ कार्यसमितिको सफलताको कामना गरे। चलचित्र समीक्षा अभ्यासलाई प्रभावकारी र फराकिलो बनाउन विभिन्न कार्यक्रम आयोजना गर्ने लक्ष्य ‘फिक्सन’का नवनिर्वाचित अध्यक्ष लामाले बताए।
'फिक्सन'ले सिनेमा प्रदर्शन, सिनेमासम्बन्धी सार्वजनिक छलफल र अवार्ड वितरणलगायत काम गर्छ।