कलाकारहरू राजु पौडेल 'राजु मास्टर' र मरिचमान श्रेष्ठ 'बल्छी धुर्बे' ले टेलिसिरियलमा वर्षौं लामो सहकार्य गरे।
चर्चित हास्य टेलिसिरियल 'मेरी बास्सै' देखि निकट भएका उनीहरूले 'हल्का रमाइलो' र 'जुठे' सिरियलसम्म आउँदा दर्शकको खुबै माया पाए।
सिरियलका दर्शकमाझ चर्चित राजु र बल्छीको जोडीले मेला-महोत्सवमा समेत संगै पुगेर दर्शक हँसाए। केही म्युजिक भिडिओमा समेत उनीहरूले सहकार्य गरे।
वर्षौंदेखिको उनीहरूको सहकार्य अहिले आएर भने टुटेको छ।
संयुक्त लेखन, निर्देशन तथा शीर्ष अभिनय रहँदै आएको 'हल्का रमाइलो' र 'जुठे' दुवै सिरियलमा उनीहरूको सहकार्य टुटेको हो।
'हल्का रमाइलो' बाट राजु केही समय अघि बाहिरिइसकेका थिए। त्यसपछि 'हल्का रमाइलो' बल्छी एक्लै र 'जुठे' मा दुई जनाकै सहकार्य चलिरहेको थियो। राजुले नयाँ सिरियल 'सकस' समेत सुरू गरे। अब, भने 'जुठे' बाट पनि राजु बाहिरिएसँगै हिट जोडी पूर्णतः अलग भएका हुन्।
'जुठे' को हिजो (बुधबार) बेलुका प्रसारित एपिसोड १९९ मा राजु देखिएका छैनन्। यसअघि उनले आफू यो सिरियलबाट अलग भएको सामाजिक सञ्जालबाट समेत जानकारी दिएका थिए।
'हल्का रमाइलो' र 'जुठे' दुवै सिरियललाई बल्छीले निरन्तरता दिइरहेका छन्। राजुको 'सकस' सिरियल भने ८७ भाग प्रसारणमा आइसकेको छ। अब आफू केही समय यही सिरियलमा मात्रै केन्द्रित हुने राजुले बताए।
सेतोपाटीसँगको कुराकानीमा उनले आपसी सल्लाहमै आफू ‘जुठे’ बाट बाहिरिएको बताए।
'दुईजनाले कथामा काम गर्दा स्क्रिप्ट बाँझिएको पनि थियो। कथा एउटै भयो परिवर्तन गर्नुपर्यो भन्ने माग समेत दर्शकहरूबाट आइरहेको थियो। त्यसैले जसले गरे पनि एकजनाले गरौं भन्ने सल्लाह भयो,' उनले भने।
उनले एउटा सिरियलमा केन्द्रित भएर त्यसलाई राम्रो बनाऔं भन्ने लागेर जुठे छाडेको समेत बताए।
अगाडि भने, 'सकसको स्क्रिप्टमा अलि समय दिनुपर्यो भन्ने लाग्यो। अब यसमै समय दिएर काम गर्छु।'
यता बल्छीले पनि आपसी सल्लाह र समझदारीमै सहकार्यबाट अलग भएको बताए। सिरियलकै सुटिङमै रहेका उनले भने, 'काम गर्दै जाँदा सल्लाह भएरै छुट्टियौं।'
राजु र बल्छीले 'मेरी बास्सै' मा अभिनयसहित केही समय लेखन तथा निर्देशन समेत गरेका थिए। पछि उनीहरूले मिलेर संयुक्त लेखन, निर्देशन एवं अभिनयमा हास्य विधाको 'हल्का रमाइलो' र सामाजिक विधाको 'जुठे' दर्शकमाझ ल्याए। दुवै सिरियलले सुरूआतबाटै दर्शकको माया पाएका थिए।
अहिले आएर उनीहरूको सहकार्य टुट्दा दर्शक तथा शुभचिन्तकले चासोका साथ हेरेका छन्।