साइन्स फिक्सन नेपाली फिल्म 'एक्लो' ले अभिनेता सुनिल थापा र एवन राज उप्रेतीको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ।
सार्वजनिक पोस्टरमा दुवै अभिनेता भिन्न लुक्समा देखिएका छन्।
प्रदीप शाहीको निर्देशनमा बनेको यो फिल्ममा प्रदीप खड्का, विजय लामा, दीया पुन, बेनिशा हमाल, सुनिल थापा, कविता नेपाली, सुरज सिंह ठकुरी, जेमी बेकन, एवन राज उप्रेती लगायत कलाकारहरूको अभिनय छ। अन्य कलाकारहरूको क्यारेक्टर लुक्स यसअघि सार्वजनिक भइसकेको छ।
लामो समयदेखि बेलायत बस्दै आएका प्रदीप शाहीले 'एक्लो' निर्देशन गरेका हुन्।
उनले यो फिल्मलाई हलिउडस्तरको बनाउने तयारीका साथ काम भइरहेको बताएका छन्। हाल फिल्मको लण्डनमा पोस्ट प्रोडक्सनको काम भइरहेको छ।
'एक्लो' का निर्माता राजुकुमार गुरूङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन्। फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका हुन्।
यो फिल्म सन २०२५ भित्रै प्रदर्शनमा आउने बताइए पनि रिलिज मिति तय गरिएको छैन। छिट्टै फिल्मको टिजर ल्याउँदै प्रदर्शन मिति घोषणा गर्ने तयारी छ।
