लोकदोहोरीमा रूचाइएका गायक प्रकाश दुतराजले फिल्ममा डेब्यु गर्दैछन्। उनको पहिलो फिल्म 'आहुती' को छायांकन केही साताअघि सकिएको छ।
गुपचुप रूपमा छायांकन गरिएको फिल्ममा प्रकाशले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधेका छन्।
स्रोतका अनुसार यो फिल्मको सिक्वेलको समेत छायांकन भइसकेको छ।
भवानी संग्रौलाको निर्माता तथा निर्देशन रहेको फिल्मको सिक्वेल 'आहुती–२' को चलचित्र विकास बोर्डबाट गत जेठमा निर्माण इजाजत लिइएको छ। जसमा कलाकारमा अञ्जली अधिकारी र विष्णु प्रसाद सापकोटाको नाम उल्लेख छ।
अञ्जली म्युजिक भिडिओकी चर्चित मोडल हुन् भने विष्णु प्रसाद सापकोटा 'हर्के हल्दार' का नामले परिचित पुराना कलाकार हुन्।
-छायांकनका क्रममा प्रकाश दुतराज, साम्राज्ञी राज्यलक्ष्मी शाह र बाल कलाकार आयुषी ढकाल
अनिल संग्रौला मुभी मेकर प्रा.लिको ब्यानरमा फिल्म निर्माण भइरहेको हो। फिल्ममा 'होस्टेल ३' डेब्यु अभिनेता रिहान गिरी पनि शीर्ष भूमिकामा छन्। उनको इन्ट्री दोस्रो भागमा हुने बुझिएको छ। त्यस्तै अभिनेत्री करिश्मा मानन्धर, बाल कलाकार आयुषी ढकालको पनि अभिनय छ।
स्रोतका अनुसार, 'आहुती' को पहिलो र दोस्रो भागको रिलिज पनि केही साताको अन्तरमा गर्ने योजना निर्माण टिमको छ।