प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकाहरू एलिना चौहान र समीक्षा अधिकारीको तारिफ गरेका छन्।
एलिना र समीक्षाले पछिल्लो समय आफूहरूको निजी जीवनका कुरालाई लिएर अभद्र शब्द प्रयोग गर्दै कमेन्ट गर्ने प्रयोगकर्ताहरूको 'फेसबुक प्रोफाइल' सामाजिक सञ्जालबाटै सार्वजनिक गरिरहेका छन्। यो कदम आफूलाई मन परेको प्रधानमन्त्री ओलीले बताएका हुन्।
उनले एलिना र समीक्षालाई 'साहसी छोरीहरू' भनेका छन्।
शनिबार बिहान ओलीले फेसबुकमा लेखेका छन् 'आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ। समाजलाई उत्तेजनाले 'गाइड' गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने यी दुई गायिकाको तरिका सही लाग्यो।'
ओलीले समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसकेको बताउँदै राम्रो गर्न खोज्नेले हिम्मत हार्नु नहुने उल्लेख गरेका छन्।
एलिना र समीक्षाको अभियानको यतिबेला कलाकारहरूले समर्थन गरिरहेका छन्।