नयाँ पुस्ताका कलाकारहरूलाई स्थापित गर्दै आएको सफल फिल्म शृङ्खला 'होस्टेल' को तेस्रो भाग 'होस्टेल ३' को सफलतापछि सोही निर्माण समूहले नयाँ फिल्मको घोषणा गरेको छ।
सोमबार एक पोस्टर सार्वजनिक गर्दै 'होस्टेल अगेन' निर्माणको घोषणा गरिएको हो। सामाजिक सञ्जालमार्फत सार्वजनिक पोस्टरले फिल्मको विषयवस्तुलाई संकेत गर्छ।
पोस्टरमा रगत लतपतिएको छ भने चक्कुले गुलाबको फूललाई थिचेको देखाइएको छ। यसले यो फिल्म ‘होस्टेल’ सिरिजका अघिल्ला टीनएज ड्रामाहरूभन्दा फरक, थ्रिलर वा सस्पेन्स श्रेणीको बन्न लागेको देखाउँछ।
'होस्टेल' को नाम भए पनि 'अगेन' थपिनु र पोस्टरको प्रकृतिले 'होस्टेल ३' को कथावस्तुको निरन्तरता छ वा छैन भन्ने स्पष्ट नभए पनि यसले 'होस्टेल' ब्रान्ड अन्तर्गतकै अर्को कथालाई प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ। यो पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन्।
फिल्ममा 'होस्टेल ३' का निर्देशक सशान कँडेल, लेखक माधव शर्मा, निर्माण कम्पनीहरू सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्म्स एवम् कार्यकारी निर्माता शंकर कोइराला दोहोरिएका छन्।
सशान कँडेलको निर्देशनमा बनेको पहिलो फिल्म 'होस्टेल ३' राम्रो व्यापार गरेको थियो। अघिल्ला शृङ्खलाहरू जस्तै तेस्रो शृङ्खलाबाट पारस बम 'कुलब्वाय', सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली, सन्तोष बानियाँ, उमर खानलगायत कलाकारहरू दर्शकमाझ चिनिएका थिए।
अब 'होस्टेल अगेन' ले पनि नयाँ प्रतिभाहरूलाई स्थान दिने अपेक्षा गरिएको छ। यसको छायांकन छिट्टै सुरू हुने बताइएको छ।
यसअघि यही समूहले 'बाउ भर्सेज छोरा' नामक फिल्म पनि घोषणा गरेको थियो, तर कलाकारहरूको समय व्यस्तताका कारण उक्त फिल्म अर्को वर्षलाई सारिएको निर्देशक कँडेलले बताए।