फिल्म 'कहाँ गयौ तिमी' निर्माण हुने भएको छ। सहारा फिल्म्सको प्रस्तुति रहने फिल्मको शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर टाइटलसहित निर्माण घोषणा गरिएको हो।
फिरोज तिमल्सिनाले निर्देशन गर्ने फिल्म प्रेमकथामा आधारित रहने बुझन् सकिन्छ।
शीर्षक घोषणा पोस्टरमा रहेको कालो बादल र एकलासमा रहेको एउटा घर र रूखले छोडिएको मायाको वरिपरि कथा रहने संकेत गरेको छ। शीर्षकमा रहेको कालो र रातो कलरले पनि शंकाबीचको प्रेम, आशा, विछोड र मिलनको कथा चलचित्रले भन्ने अनुमान लगाउन सकिन्छ।
कथा जीवन आचार्यको रहने फिल्ममा संगीत प्रकाश नेपालीको रहनेछ। फिरोज टेलिभिजन होस्ट हुँदै निर्देशनमा प्रवेश गरेका सर्जक हुन्। 'दर्पण छायाँ २' मा अभिनय गरेका फिरोज गायक पनि हुन्।
इन्जिनियरिङलाई पेसा बनाएर उनी पछिल्लो समय अमेरिकामा बस्दै आएका छन्। उनले अब फिल्म निर्देशनमा डेब्यु गर्न लागेका हुन्।
'कहाँ गयौ तिमी' मा कलाकार को–को रहनेछन्, त्यो भने निर्माणपक्षले खुलाएको छैन। निर्माता पनि को रहने जानकारी दिइएको छैन। फिल्मको छायांकन, प्रदर्शन र अन्य टिमबारे चाँडै जानकारी दिने निर्देशक फिरोजले बताए।
फिल्मको घोषणा गर्दै उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, 'शब्द र भावना भनेको घरमा काम लाग्छ भनेर जतन गरी राखेको सियो जस्तो रहेछ, चाहिने बेला कहिले फेला पर्दैन। आज सिनेमा निर्देशनमार्फत नयाँ यात्राको सुरूवात गर्दा खुशी र जिम्मेवारी दुवै महसुस भएको छ। सम्पूर्ण टिमप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा फिल्मबारे थप जानकारी दिने प्रतिज्ञा गर्दछु।'