'छक्का पन्जा- युएसए कमेडी टुर २०२५' आयोजना हुने भएको छ। आत्रेय प्रोडक्सन हाउस र ग्लोबल इभेन्ट्सको संयुक्त प्रस्तुतिमा हुन लागेको कमेडी टुरको आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच औपचारिक घोषणा गरिएको हो।
टुरमा दर्शकहरूलाई हँसाउन र दसैंको माहोल तताउन नेपाली हाँस्य कलाकारहरूको लोकप्रिय जोडी दीपकराज गिरी र दीपाश्री निरौला, साथमा जितु नेपाल 'मुन्द्रे' सहितको 'छक्का पन्जा' टिम उपस्थित हुनेछ। साथमा कलाकार तथा होस्ट आसिफ शाह, गायिका मीना पोख्रेल र धर्मेन्द्र सेवान पनि सहभागी हुनेछन्।
सेप्टेम्बर १९ बाट बाल्टिमोरबाट सुरू हुने यो कमेडी टुर अमेरिकाका विभिन्न १५ सहरमा आयोजना हुनेछ। सेप्टेम्बर २० मा कोलम्बस, २१ मा एक्रोन र २७ मा टेक्सास (डालस) मा कार्यक्रम तय भएको छ। हरेक वर्ष हुने डालस मोमो फेस्टिभलमा यसपटक करिब १५ हजार दर्शकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। बाँकी सहरहरूको कार्यक्रम तालिका चाँडै नै सार्वजनिक गरिने आयोजकले जनाएको छ।
टुरको घोषणा कार्यक्रममा करिब १५ वर्षपछि अमेरिका जान लागेका दीपकराज गिरी निकै उत्साहित सुनिए।
उनले भने, 'अमेरिकाका हरेक सहरमा हाम्रा चलचित्र हेर्ने दर्शक हुनुहुन्छ। हरेक वर्षको दसैंमा हाम्रा चलचित्र दर्शकले हेर्नुहुन्थ्यो। यो पटक हाम्रो चलचित्र रिलिज छैन, त्यही भएर दर्शक भेट्न र उहाँहरूलाई धन्यवाद दिन, साथै ’छक्का पन्जा’ को प्रत्यक्ष मज्जा दिनका लागि हामी यो यात्रामा सहभागी हुँदैछौं।'
निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला भने उत्साहितसँगै केही नर्भस रहेको बताइन्।
दीपाले भनिन्, 'धेरै वर्ष भयो स्टेजमा प्रस्तुति नगरेको, सोही कारण केही नर्भस छु तर दर्शकलाई भेट्न र उहाँहरूसँगै यो वर्षको दसैं मनाउन उत्साहित छु।'
अभिनेता जितु नेपालको उत्साह भने प्रष्ट सुनिन्थ्यो। उनले भने, 'यो पटकको दशैंमा ‘छक्का पन्जा’ कमेडी टुर हुँदैछ। दर्शकहरूसँग प्रत्यक्ष भेट्न, दशैं मनाउन र हाम्रो प्रस्तुतिमा रमाउन उत्साहित छु।'
केही समयअगाडि मात्र आत्रेय प्रोडक्सन हाउसले प्रकाश सपुतसहितको विशेष सांगीतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको थियो। नेपाली चलचित्रको अमेरिका वितरण तथा म्युजिक भिडिओ निर्माणमा पनि सक्रिय रहेको यस कम्पनीले यसपटकको 'छक्का पन्जा' यात्रालाई विशेष बनाउने तयारी गरिरहेको छ।
नेपालबाट यस कार्यक्रमको संयोजन कोरेभेक्स सोलुसनको तर्फबाट हर्षित घिमिरेले गरिरहेका छन् भने अमेरिकामा सुदीप आत्रेय र सुमन अधिकारीले गरिरहेका छन्।