फूलपातीको अवसर पारेर सोमबारदेखि प्रदर्शनमा आउने फिल्म 'बलिदान' लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले नेपालभर प्रदर्शनका लागि स्वीकृति प्रदान गरेको छ।
यो फिल्मले सेन्सर बोर्डबाट पेरेन्टल गाइडेन्स (पीजी) प्रमाणपत्र पाएको छ। त्योसँगै १६ वर्षभन्दा कम उमेरका दर्शकका लागि यो फिल्म हेर्न अभिभावकको साथ अनिवार्य हुनेछ।
पीजी सर्टिफिकेटको अर्थ साना बालबालिकाका लागि फिल्म अनुपयुक्त हुन सक्छ भन्ने हो। सोहीकारण उनीहरूले अभिभावकको निगरानीमा फिल्म हेर्न सक्छन्।
सेन्सर बोर्डले प्रदान गरेको प्रमाणपत्रमा उल्लेख भएअनुसार यो फिल्मको अवधि (रनटाइम) २ घण्टा ४ मिनेट तोकिएको छ।
सन्तोष सेन निर्देशित 'बलिदान' मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको अभिनय छ।
'आसुसेन फिल्म प्रोडक्सन प्रा.लि.' को ब्यानरमा बनेको यस फिल्मका निर्माता पवन ब्राडफोर्ड विष्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्।
