त्रिवेणी राई निर्देशित फिल्म 'शेप अफ मोमो' ले प्रतिष्ठित बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२५ मा दुई अवार्ड जितेको छ।
राई निर्देशित यो पहिलो नेपाली फिल्मले फेस्टिभलको भिजन खण्डमा 'ताइपेई फिल्म कमिसन अवार्ड' र 'द सोंगवन भिजन अवार्ड' जितेको हो।
गत सेप्टेम्बर २१ मा सोही प्रतिष्ठित फेस्टिभलमा यो फिल्मको विश्व प्रिमियर भएको थियो। फिल्मले पुरस्कार जितेपछि निर्देशक राईले कृतज्ञता व्यक्त गरेकी छन्। उनले विविध आवाजहरू प्रदर्शन गर्ने र स्थानीय संस्कृति तथा विश्वव्यापी भावनामा आधारित कथाहरूलाई मान्यता दिएकोमा बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई धन्यवाद पनि दिएकी छन्।
बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलपछि 'शेप अफ मोमो' को युरोपेली प्रिमियर सेप्टेम्बर २५ मा प्रतिष्ठित सान सेबास्टियन फिल्म महोत्सवमा पनि भइसकेको छ।
यो फिल्मले हिमाली समुदायहरूको परम्परागत र काल्पनिक चित्रणलाई चुनौती दिँदै पितृसत्तात्मक समाजमा महिलाहरूको संघर्षलाई यथार्थपरक रूपमा प्रस्तुत गरेको छ।
फिल्मले बिष्णुको कथा भन्छ, जो आफ्नो जागिर छोडेर पहाडी गाउँ फर्कन्छिन्। तर, त्यहाँ उनलाई बढ्दो पारिवारिक दबाब र सामाजिक अपेक्षाको सामना गर्नुपर्छ। गर्भवती दिदीको आगमन र समुदायका एक ‘उपयुक्त’ केटासँगको सम्बन्धले तनाव बढ्दै जाँदा, बिष्णुले परम्परासँग सम्झौता गर्ने वा आफ्नो स्वतन्त्रताको दाबी गर्ने भन्नेमा निर्णय लिनुपर्ने हुन्छ।
त्रिवेणी पूर्वी सिक्किमको नान्दोककी हुन् र कोलकाताको सत्यजित रे फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युटबाट स्नातक गरेकी छन्। उनले आफ्ना अघिल्ला सर्ट फिल्महरूका लागि धेरै पुरस्कारहरू जितेकी थिइन्।
'शेप अफ मोमो' गीता राई र किसलयद्वारा निर्मित फिल्म हो, जसमा नेहा मल्लिक, हिमांशु कोहली र जंग वू ली सह–निर्माताको रूपमा छन्। फिल्ममा गौमाया गुरूङ, श्यामाश्री शेर्पा, राहुल नवच मुखिया, पशुपति राई, जानकी कडायत लगायतको अभिनय छ।

