कार्तिक ६ गते भाइटिकाको शुभ अवसरमा रिलिज हुने तयारीमा रहेको फिल्म 'सोल्टिनी' को ट्रेलर सार्वजनिक गरिएको छ।
राजधानीमा फिल्मका निर्देशक, कलाकार तथा सञ्चारकर्मीहरूको उपस्थितिकाबीच ट्रेलर सार्वजनिक गरिएको हो। अर्जुन सुवेदीको निर्देशनमा बनेको यस फिल्ममा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुको मुख्य भूमिका छ। ट्रेलरले एक मौलिक नेपाली प्रेमकथालाई प्रस्तुत गरेको छ, जसमा सामाजिक र पारिवारिक जटिलताकाबीच अंकुरिएको प्रेमको संवेदनशील चित्रण गरिएको छ।
अन्तरजातीय प्रेम सम्बन्धमा देखिने सामाजिक विभेद, समुदायहरूबीचको असमानता र त्यसले निम्त्याउने संघर्षपूर्ण परिस्थितिलाई ट्रेलरले उजागर गरेको छ।
कथा मुख्यतया अभिनेत्री परीक्षा लिम्बुको पात्र वरिपरि घुमेको छ। उनी र अभिनेता प्रकाश सपुतबीचको प्रेम सम्बन्ध फिल्मको प्रमुख आधारका रूपमा रहेको छ।
अर्जुन सुवेदी र कुमार भट्टराईको लेखन रहेको ‘सोल्टिनी’ मा प्रकाश सपुत र परीक्षा लिम्बुसँगै सुन्दर धिताल, सबु गुरूङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारहरूको अभिनय छ।
निर्देशक सुवेदीका अनुसार 'सोल्टिनी' ले समाजमा विद्यमान जातीय विभेद, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनविरूद्ध आवाज उठाउने उद्देश्य लिएको छ।
सार्वजनिक ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको छ।