आगामी माघ १६ गतेलाई रिलिज मिति घोषणा गर्दै 'आ बाट आमा' टिमले फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ।
तिहारको लक्ष्मीपूजाको अवसर पारेर सोमबार फिल्मको पहिलो आधिकारिक पोस्टर सार्वजनिक गरिएको हो।
सार्वजनिक पोस्टरमा विपना थापा, प्रदीप रावत र पल शाह खुसी मुद्रामा देखिएका छन्। सन्तानको खुसीमा बुबाआमा पनि खुसी भएको अनुमान गर्न सकिन्छ।
ग्रामीण परिवेशमा आधारित फिल्मले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको संकेत पोस्टरले गरेको छ।
पोस्टरमा लेखिएको 'बा आमाले परिश्रमले घर बनाउनुभयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं' ले कथा आम नेपाली परिवारको यथार्थसँग गहिरो सम्बन्ध राख्ने देखाउँछ। निर्माण पक्षका अनुसार, फिल्मले ‘घर र आमाको माया’ भन्ने भावनालाई दर्शकसमक्ष नजिकबाट प्रस्तुत गर्नेछ।
चन्द्र पन्तको लेखन, पटकथा र निर्देशन तथा आर्या पन्तको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहारी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलीप उखेडालगायत कलाकारहरूको अभिनय छ।
फिल्म 'आ बाट आमा' मा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुंगाना निर्माता हुन् भने कार्यकारी निर्मातामा करण सिंह रसाइली रहेका छन्।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती छन्। फिल्ममा संगीत कोसिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतमको रहनेछ।
फिल्मको हिमारू इन्टरटेन्मेन्ट प्रा.लि.ले अस्ट्रेलिया र न्युजिल्यान्ड प्रदर्शन अधिकार लिइसकेको छ। नेपालमा आरआर फिल्म्सले यसको प्रदर्शन गर्नेछ।
डिजिटल अधिकार ओएसआरले लिएको छ।