यही मंसिर २६ गतेदेखि रिलिज हुन लागेको फिल्म 'पीआर' अष्ट्रेलिया र न्युजिल्याण्डमा पनि प्रदर्शनमा आउने भएको छ।
नेपाल रिलिजको एक सातापछि फिल्म अष्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शनमा आउने भएको हो। त्यहाँको प्रदर्शन राइटस् मि.श्रेष्ठ प्रोप्राइत्री लिमिटेड तथा श्रेष्ठ फ्यास्लिटी म्यानेजमेन्ट कम्पनीले खरिद गरेको हो। कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठले अष्ट्रेलिया र न्युजिल्याण्डमा फिल्म प्रदर्शनका लागि खरिद गरेको बताए।
उनका अनुसार फिल्मले सामाजिक सन्देश दिने र सबैले बुझ्नुपर्ने विषय भएकाले खरिद गरिएको हो। यसअघि यो फिल्म अष्ट्रेलियाकै विभिन्न स्थानमा विशेष शो समेत गरिएको थियो। शो हेरेका दर्शकले फिल्म राम्रो बनेको भन्दै प्रशंसा गरेका थिए।
शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्ममा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी.नेपाल र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।
यतिबेला निर्देशक बस्नेत यो फिल्मको प्रमोसन र त्यहाँको हलमा फिल्म रिलिजका लागि अष्ट्रेलियामा नै छन्। यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। गणेश बुढाथोकीको लेखन रहेको फिल्ममा बन्दे प्रसादको सम्पादन छ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा कोरियोग्राफी रामजी लामिछानेको छ भने सौरभ सायमी र सौरभ लामाले छायांकन गरेका हुन्। नेपालमा यसको वितरण आरआर फिल्म्सले गर्दैछ।