नेपाली सिरियलका दर्शकमाझ लोकप्रिय कलाकार, निर्माता तथा निर्देशक आशा खड्का गौतमको युट्युब च्यानल 'सुकुमाया टिभी' ले ५० लाख (५ मिलियन) सब्सक्राइबर्सको कोसेढुंगा पार गरेको छ।
च्यानलमा ५० लाख सदस्य जोडिएको अवसरमा खुसी साट्दै आशाले आफ्ना दर्शक तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गरेकी छिन्।
उनी सामाजिक सञ्जालमा लेख्छिन्, 'कुनै दिन लाग्थ्यो हाम्रो युट्युब च्यानलको सब्सक्राइबर्स १ लाख मात्रै भइदिए पनि कस्तो हुन्थ्यो, तर हेर्दाहेर्दै ५० लाखभन्दा बढी दर्शक हाम्रो च्यानलमा जोडिनुभएको छ।'
उनले यो सफलताको सम्पूर्ण श्रेय दर्शकहरूलाई दिएकी छन्। अगाडि लेखेकी छिन्, 'यहाँहरूको यो मायाका लागि मनदेखि नै धन्यवाद दिन चाहन्छु। यो सब हजुरहरूकै कारणले गर्दा सम्भव भएको हो।'
'सुकुमाया टिभी' मा आशाले आफ्नो लोकप्रिय सिरियल 'भुन्टी' प्रसारण गर्दै आएकी छन्। यसका साथै उनको अर्को च्यानल 'कान्छी' मा पनि ३८ लाखभन्दा बढी सब्सक्राइबर्स पुगिसकेका छन्।
'भुन्टी' र 'कान्छी' दुवै टेलिसिरियलको निर्माण, निर्देशन तथा शीर्ष भूमिकामा आशा स्वयंले काम गर्दै आएकी छन्। युट्युबमा यी दुवै सिरियलका हरेक भागहरूले लाखौं भ्युज पाउँदै आएका छन्।