अभिनेता दयाहाङ राई र प्रकाश सपुतको पहिलो सहकार्य रहेको फिल्म 'मिरमिरे' को टिजर सार्वजनिक गरिएको छ।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्मको टिजर शुक्रबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।
टिजरमा बुवा र छोरीको भावनात्मक सम्बन्धको कथा देखाइएको छ। आमाको अनुपस्थितिमा बुवासँग रहेकी छोरी र उनीहरूबीचको भावनात्मक सम्बन्धको कथा केन्द्रमा राखेर टिजरमा तयार पारिएको छ।
बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरी (शाइसा गौचन)को लालनपालन र शिक्षाको जिम्मेवारी उठाएका छन्। यसका लागि उनी स्कुलमा काम गर्छन्। छोरीले आमाको अभावको महसुस गरिरहेकी छन्। यो दयाहाङले पनि महसुस गरेका छन्।
सिर्जना निङलेखु स्कुलकी शिक्षिकाको भूमिकामा छिन्। उनी त्रिकोणात्मक प्रेममा रहेको छनक टिजरले दिन्छ। दयाहाङ राई र प्रकाश सपूतसँग उनी प्रेममा रहेको हो कि भन्ने टिजरमा समावेश संवाद र दृश्यले संकेत गर्छ। यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’ मा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरूङ, छुल्ठिम गुरूङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेल लगायतको अभिनय छ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता छन् भने सह–निर्माता गोविन्द बोहरा र सुदिप कुँवर हुन्। कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका फिल्म वितरक रोहित कट्टेल छन्।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको फिल्ममा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक छन्। फिल्मको छायांकन आलोक शुक्लाले गरेका हुन् भने निमेश श्रेष्ठ र भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्।
फिल्मको देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।
'मिरमिरे' माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ।