अभिनेत्री रेखा थापाले आफू फिल्ममै सक्रिय रहेको बताएकी छन्। उनले यसपटक आफू राजनीतिक द्रष्टा मात्र बन्ने उल्लेख गर्दै निर्वाचनमा नहोमिने बताइन्।
किताब जात्राको दोस्रो दिन शुक्रबार आयोजित सेसनमा सहजकर्ता नरेश भट्टराईले 'अब तपाईं निर्वाचनमा सहभागी हुने सम्भावना कति छ?' भन्ने प्रश्न सोधेकामा रेखाले आफू निर्वाचनमा नउठ्ने जबाफ दिएकी हुन्।
रेखाले किताब र सिनेमा तथा साहित्य र सिनेमाबीच समानता रहेको बताइन्। उनका अनुसार यी दुवै माध्यममा समाजकै कथा हुने भएकाले एउटै प्रकृतिका अभिव्यक्ति हुन्।
उनले आफूमा किताब पढ्ने बानी भएको बताउँदै नेपालमा दुःखका कथाहरू धेरै भएको र आफूले पनि त्यही कथा फिल्ममा उतारिरहेको धारणा राखिन्। 'हामीले समाज हाँसिरहेको कथा किताब र फिल्ममा कहिले देखाउन पाउँला?' उनले प्रश्न गरिन्।
पढाइमा राम्रो भए पनि कलाप्रतिको मोह बढ्दै गएपछि पढाइप्रति रूचि घटेको रेखाले सुनाइन्। रूचिको क्षेत्रमा दक्षता हासिल गर्दा मात्र सफलता मिल्ने विश्वासले आफू कला क्षेत्रमा बढी सक्रिय बनेको उनको भनाइ थियो।
सफलताको परिचय पढाइसँग मात्रै जोड्नु गलत हुने उल्लेख गर्दै उनले भनिन्, 'के हामीले बुद्धको पढाइ सोध्छौं? उनका कर्मले नै समाज र जीवमा प्रभाव पार्छ। कला साधना भएकाले कक्षाको पढाइले मात्र जीवनलाई अर्थ दिन सक्दैन।'
किताब यात्रा फाउन्डेशनले नेपाल पुलिस क्लबमा किताब जात्राको सातौं संस्करण आयोजना गरेको हो।