फिल्म 'परिवर्तन' को ट्रेलर सोमबार सार्वजनिक गरिएको छ।
ट्रेलरमा अभिनेता सुशील श्रेष्ठलाई अन्याय विरूद्ध दृढतापूर्वक उभिने 'पारस' नामक निडर पात्रका रूपमा देखाइएको छ।
एक्सन-सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्ध ट्रेलरमा देखिन्छ। फिल्ममा अञ्जना बराइली प्रहरीको भूमिकामा छिन्।
सुशील र अञ्जनासहित फिल्ममा करिश्मा मानन्धर, सरोज खनाल, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायतको अभिनय छ।
ट्रेलर सार्वजनिक गर्दै निर्देशक विजय केरूङले फिल्मले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे। उनले भने, 'फिल्मको कथाअनुसार नै ट्रेलर तयार गरिएको हो। एक्सनसँगै सामाजिक सन्देश पनि बोकेको यो फिल्मले दर्शकलाई बाँध्ने विश्वास छ।'
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको ‘परिवर्तन’ एक्सन-सस्पेन्स विधामा निर्माण गरिएको हो। दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।
शिव ढकालको डिओपी रहेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र बन्दे प्रसादको सम्पादन छ। यो फिल्मलाई स्वदेशमा आरआर फिल्म्सले वितरण गर्दैछ।
'परिवर्तन' माघ ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।