यही शुक्रबारदेखि प्रदर्शनमा आउने एक्सन फिल्म 'परिवर्तन' सेन्सर पास भएको छ। चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्मलाई पीजि सर्टिफिकेट दिएको हो। योसँगै फिल्म हेर्नका लागि १६ वर्षमुनिका दर्शकलाई अभिभावक साथमा हुनुपर्ने छ।
फिल्मको निर्देशन पुराना फिल्म निर्देशक विजय केरूङले गरेका हुन्।
सेन्सर पासपछि निर्देशक केरूङले फिल्ममा समसामयिक विषयवस्तु र राजनीतिक उथलपुथल समेटिएकाले पीजि सर्टिफिकेट पाएको बताए। उनका अनुसार केही डरलाग्दा दृश्यका रहेका कारण १६ वर्षमुनिका दर्शकका लागि अभिभावकको साथ आवश्यक गरिएको हो। फिल्मको रनटाइम २ घण्टा १३ मिनेट तय गरिएको छ।
फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराईली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायत मुख्य भूमिकामा छन्।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म दीपक सिवाकोटीले निर्माण गरेका हुन्। निर्माता सिवाकोटीकै कथा रहेको यस फिल्मको पटकथा तथा संवाद भने शिवम् अधिकारीले लेखेका हुन्।
एक्सन-सस्पेन्स विधामा निर्माण गरिएको फिल्ममा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने एसडी योगीको संगीत सुन्न सकिन्छ। श्री श्रेष्ठको द्धन्द्ध निर्देशन दर्शकले हेर्न पाउने छन्।
फिल्मको अग्रिम टिकट बुकिङ खुलाउने तयारी छ।