यही माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'आ बाट आमा' को ट्रेलर सार्वजनिक भएको छ।
बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच रिलिज ट्रेलर पारिवारिक सम्बन्ध र भावनात्मक संघर्षमा केन्द्रित छ। एक ग्रामीण परिवारमा बासुदेव र देवकीका छोरा कृष्ण छन्।
स्कुलमा पढाइरहेका कृष्ण जब पारिवारिक सुखका लागि भन्दै विदेश जाने तयारीमा लाग्छन्, त्यससँगै परिवारभित्रको भावनात्मक सम्बन्ध, समर्पण, विछोडको कथा उजागर हुन्छ। बाध्यताले परदेशिन लागेको छोरा र आमाबुवाले सन्तानप्रति गरेको मायालाई ट्रेलरमा देखाइएको छ।
आमाको भूमिकामा विपना थापाले अभिनय गरेकी छिन् भने बुवाको भूमिकामा भारतीय अभिनेता प्रदीप रावत छन्। छोराको भूमिकामा अभिनेता पल शाहले अभिनय गरेका छन्। साथमा सिम्रन पन्त, उषा उप्रेती, ,साईग्रेस पोखरेल, रवीन्द्र झालगायत कलाकारहरू शीर्ष भूमिकामा छन्।
त्रिकोणात्मक प्रेमकथासँगै आध्यात्मिक कुरालाई समेत ट्रेलरमा समावेश गरिएको छ।
चन्द्र पन्तको कथा तथा निर्देशन रहेको फिल्मको लेखन अभिमन्यु निरवीको हो। कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, ध्रुव न्यौपाने, प्रकाश कुँवर, क्षितिज ढुंगाना निर्माता रहेको फिल्मको कार्यकारी निर्माता करण सिंह रसाली हुन्। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा डिओपी नवराज उप्रेतीको हो भने साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ।
'आ बाट आमा' लाई देशभरका हलमा आरआर फिल्मस्ले वितरण गर्दैछ।