प्रदर्शन तयारीमा रहेको प्रेम कथानक फिल्म 'कुमारी' को ओभरसिज प्रदर्शन अधिकार बिक्री भएको छ।
अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूमा प्रदर्शनका लागि फिल्म बिक्री भइसकेको निर्माता महेन्द्र अधिकारीले जानकारी दिए। नेपालमा माघ २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म अस्ट्रेलिया र अमेरिकामा पनि सोही मितिमा रिलिज हुने भएको निर्माणपक्षले जनाएको छ।
क्यानडा र मध्यपूर्वमा भने एक हप्तापछि रिलिज हुनेछ।
अस्ट्रेलियामा असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो, क्यानडामा मेरो इभेन्ट्स तथा मध्यपूर्वका देशहरूमा नेपफिल्मले ‘कुमारी’ रिलिज गर्नेछन्।
ट्रेलरले पाएको सफल प्रतिक्रिया र दर्शकको उत्साहपछि अन्य देशहरूबाट समेत फिल्म प्रदर्शनका लागि निरन्तर माग आइरहेको निर्माता अधिकारीले बताए। निर्देशक दिनेश राउतले हजारौं दर्शकको उपस्थितिमा ट्रेलर सार्वजनिक हुनु आफ्नो सपना पूरा भएको अनुभूति भएको बताउँदै यही उत्साह सिनेमा हलसम्म पुग्ने विश्वास व्यक्त गरेका छन्।
'कुमारी' बाट अभिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारहरूको अभिनय छ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्।
छायांकन सुसन प्रजापति, सम्पादन र कलर ग्रेडिङ सुप्रिम पराजुली, साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहेको छ भने कार्यकारी निर्माता केदार भुसाल हुन्।
फिल्मका गीतहरू 'डोको बुन्ने', 'कता छौ मेरो फूल' र 'तिमी बिना' ले यसअघि नै चर्चा बटुलिसकेका छन्।
विशेष गरी 'डोको बुन्ने' गीतले ६० लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ। फिल्मका सबै गीतमा केहर सिंह लिम्बुको स्वर रहेको छ भने संगीत सुमन तामाङ र शब्द सागर लामिछाने मगर तथा सुमन तामाङको छ।
प्रेमकथामा सफल पहिचान बनाइसकेका निर्देशक दिनेश राउतले सामाजिक विषयका फिल्मपछि 'कुमारी' मार्फत पुनः प्रेम कथामा फर्किएका हुन्।