अभिनेता तथा निर्माता दीपकराज गिरीले कलाकारहरू सकेसम्म सत्ताको प्रतिपक्षमा बसेर जनताको पक्षमा बोल्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आइरहँदा उनले सामाजिक सञ्जालमा पोस्ट लेख्दै कलाकारहरू सत्ताको नजिक रहनेभन्दा पनि जनताको आवाज उठाउने भूमिकामा रहनुपर्ने धारणा व्यक्त गरेका हुन्।
दीपकराजले पोस्टमा लेखेका छन्,– 'कलाकारहरूले सकेसम्म सत्ताको प्रतिपक्षमा बसेर जनताको कुरा बोलिदिनुपर्छ। हिजोसम्म त्यही नै गरियो। भोलिदेखि पनि निस्वार्थ त्यही नै गरिन्छ। चुनाब सकियो, आउनेलाई शुभकामना, जानेलाई धन्यवाद।'
निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेका बेला आएको उक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा ध्यान तानेको छ। दीपकराजको पोस्टमा थुप्रै सेलिब्रेटीहरूले समेत प्रतिक्रिया जनाएका छन्। अधिकांशले उनको भनाइप्रति सहमति जनाएका छन्।
दीपकराजले यसअघि पनि सामाजिक तथा राजनीतिक विषयमा आफ्नो धारणा राख्दै आएका छन्। यतिबेला उनी फिल्म 'छ माया छपक्कै २' को तयारीमा छन्।