सौगात मल्ल, प्रकाश सपुत र सुहाना थापाको मुख्य अभिनय रहेको फिल्म 'परालको आगो' को टिजर सार्वजनिक भएको छ।
सोमबार सार्वजनिक टिजरले फिल्मको कथाबारे धेरै कुरा प्रत्यक्ष नभने पनि केही महत्त्वपूर्ण संकेतहरू दिन्छ। मुख्य कलाकार सौगात मल्ल, प्रकाश सपुत र सुहाना थापा वरिपरि कथा घुम्ने देखिन्छ।
फिल्ममा प्रकाश सपुत र सुहाना थापा श्रीमान-श्रीमतीको भूमिकामा देखिएका छन्, जहाँ सानो निहुँबाट सुरू भएको झगडा हिंसासम्म पुगेको दृश्य टिजरमा प्रस्तुत गरिएको छ।
श्रीमती पधेँरोबाट अबेला घर फर्किएको विषयमा सुरू भएको विवादले दाम्पत्यबीचको तनाव देखाउँछ, जसलाई छुट्याउन आएका छिमेकी सौगात मल्ललाई पनि आफूहरूको बीचमा नपर्न आग्रह गरिएको संवाद टिजरमा समेटिएको छ।
ग्रामीण परिवेश, पहाडी पृष्ठभूमि र नेपाली समाजमा देखिने दाम्पत्य मनमुटावको कथा फिल्मले भन्ने देखिन्छ। गाउँघरको सामाजिक यथार्थ र सम्बन्धभित्रको द्वन्द्वको कथा, त्यसमा पनि खासगरी दाम्पत्य सम्बन्धमा सानो विवाद कसरी ठूलो संकटमा बदलिन्छ भन्ने कथा प्रस्तुत गर्ने टिजरले संकेत गर्छ।
लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको 'परालको आगो' को निर्माता सुशील पोखरेल हुन्। हरि ओम सिने मेकर्सको प्रस्तुति रहेको यो फिल्म गुरूप्रसाद मैनालीको कृति 'परालको आगो' बाट प्रेरित छ।
फिल्ममा सृजना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारीलगायत कलाकारहरूको समेत अभिनय छ।
सुशील देवकोटाको पटकथा तथा संवाद रहेको फिल्म संकल्प भुजेलले छायांकन गरेका हुन्। रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ।
'परालको आगो' आगामी बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। यसलाई नेपारभर आरआर फिल्मस्ले वितरण गर्नेछ।