अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण हुन लागेको फिल्म 'माया भनेकै यस्तो होला' को छायांकन थालिएको छ।
सोमबार काठमाडौंको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कबाट फिल्मको छायांकन सुरू गरिएको हो।
'हिम्मतवाली' र 'मालिका' जस्ता फिल्म निर्देशन गरिसकेकी रेखा थापा झण्डै आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन्। 'माया भनेकै यस्तो होला' मा रेखा पूर्ण रूपमा निर्देशनमा मात्र केन्द्रित रहनेछिन्।
रेखाले यसपटक आफ्नो ब्यानर 'रेखा फिल्मस्' भन्दा बाहिर 'दिया एण्ड अमु फिल्मस्' को ब्यानरमा काम गरिरहेकी छिन्।
फिल्ममा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारहरूको ठूलो टोलि समेटिएको छ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र लामो समयपछि फिल्ममा फर्किएका अभिनेता दिल श्रेष्ठ मुख्य अभिनयमा रहनेछन्।
त्यस्तै, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहले यस फिल्ममा प्रमुख भूमिका निर्वाह गर्दैछन्। साथमा लक्ष्मी गिरी, विशाल पहाडी, रवी डंगोल ‘बेमान’, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकारहरूको पनि यसमा अभिनय रहनेछ।
हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस फिल्मले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्ने बताइएको छ।
ध्रुव लम्सालको लेखन रहेको यो फिल्मले प्रेमको वास्तविक परिभाषा खोज्ने प्रयास गर्ने जनाइएको छ। लेखक लम्साल पनि करिब एक दशकपछि सिनेमा लेखनमा फर्किएका हुन्।
प्रोडक्सन हेड सीएम भारद्वाज (सुवेदी)का अनुसार फिल्मको छायांकन फागुनको दोस्रो साताबाटै थाल्ने तालिका भए पनि चुनाव र पछिल्लो परिस्थितिका कारण केही दिन ढिलाइ भएको हो। काठमाडौं आसपासकै विभिन्न स्थानमा खिचिने फिल्मको छायांकन करिब एक महिना चल्ने उनले जानकारी दिए।
फिल्म सुदीप बरालले छायांकन (डिओपी) गर्दैछन् भने अनिरूद्ध आत्रेय प्रमुख सहायक निर्देशकका रूपमा छन्।
'माया भनेकै यस्तो होला' आगामी वर्षको तीजको अवसर पारेर देशभरका हलहरूमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।