बैशाखमा प्रदर्शन तयारीमा रहेको फिल्म 'परालको आगो' को गीत 'उडी जाऊँ भने म पन्छी होइन' रिलिज भएको छ। निर्माण टिमले सोमबार ओएसआर युट्युब च्यानलमार्फत गीत रिलिज गरेको हो।
गीतको भिडिओमा फिल्म 'परालको आगो' का मुख्य कलाकारहरू सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँले अभिनय गरेका छन्।
सुहानाले आफू बसेको ठाउँभन्दा आफ्नो माया भएको ठाउँमा जान चाहेको भावलाई गीतमार्फत पोखेकी छन्। गीतले प्रेम, बिछोडको भावलाई मधुर तर भावपूर्ण शैलीमा प्रस्तुत गरेको छ। संगीतको लय शान्त र मन छुने भएकाले सुन्नेलाई गीतमा तान्ने क्षमता राख्छ।
गीतको भिडिओ रामजी लामिछानेको कोरियोग्राफीमा बनेको हो।
अग्रज कम्पोजर तथा एरेन्जर शान्ती ठटालको संगीतमा रहेको यस गीतमा निशु शर्माले गाएकी छन्। साथै गीतको शब्द रचना मन बहादुर मुखियाको हो। लोकप्रिय यस गीतको मूल गायिका अरूणा लामा हुन्। उनले चार दशकअघि यो गीत गाएकी थिइन्। निर्माण टिमले अरूणा लामाप्रति समर्पित गर्दै गीत सार्वजनिक गरेको हो। गीतको म्युजिक एरेन्ज बिनोद भुजेलले गरेका छन्।
फिल्म 'परालको आगो' गुरू प्रसाद मैनालीको अमर कृतिबाट प्रेरित छ। फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायत कलाकारहरूले अभिनय गरेका छन्।
लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्मको निर्माता सुशील पोखरेल हुन्। हरि ओम सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्ममा पटकथा तथा संवाद सुशील देवकोटाको रहेको छ।
संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मको सम्पादक मिलन श्रेष्ठ हुन्।
'परालको आगो' आगामी बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तय छ।