प्रदर्शन तयारीमा रहेको फिल्म 'परालको आगो' को ट्रेलर सार्वजनिक गरिएको छ।
निर्माण टिमले बिहीबार एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरले फिल्म पारिवारिक तनाव, सामाजिक द्वन्द्व र मानवीय संवेदनाले भरिएको कथावस्तुको संकेत गर्छ। मुख्य पात्रका रूपमा प्रकाश सपुत र सुहाना थापाबीचको दाम्पत्य सम्बन्धमा आएको तनावलाई ट्रेलरमा देखाइएको छ।
घरभित्रको झगडा, हिंसा र त्यसबाट उत्पन्न मानसिक पीडाले कथालाई गम्भीर बनाएको देखिन्छ। श्रीमतीमाथि हिंसा गरेपछि उनलाई खोज्न निस्किएको पात्रमार्फत पश्चाताप, पीडा र सम्बन्ध जोगाउने संघर्ष प्रस्तुत गरिएको छ।
ट्रेलरमा सौगात मल्ल र सिर्जना अधिकारीलाई छिमेकीको भूमिकामा देखाइएको छ। उनीहरूको जोडी एकदमै मिलेको देखिन्छ।
गाउँघरको परिवेश, छिमेकी सम्बन्ध, समाजका कुरा र मानिसबीचको व्यवहारलाई ट्रेलरमा उतारिएको छ। फिल्ममा ग्रामीण समाजभित्र लुकेको घरेलु हिंसा, सम्बन्धमा अविश्वास, पश्चाताप र मेलमिलापको विषय उठाइएको ट्रेलरले संकेत गर्छ।
मार्मिक ट्रेलरमार्फत फिल्मको कथावस्तु रहस्यमय तथा सामाजिक द्वन्द्वमा आधारित रहेको देखिन्छ। यो फिल्ममा सौगात, प्रकाश र सुहानाले पहिलोपटक सहकार्य गरेका हुन्।
लक्ष्मण सुनारको निर्देशनमा बनेको 'परालको आगो' मा सौगात, सुहाना, प्रकाश र सृजनासहित शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारीलगायत कलाकारहरूको अभिनय छ। हरि ओम सिने मेकर्स प्रा.लिको ब्यानरमा बनेको फिल्मको निर्माता सुशील पोखरेल हुन्।
सुशील देवकोटाको लेखन रहेको फिल्ममा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ। यो फिल्म गुरूप्रसाद मैनालीको ‘परालको आगो’ कथाबाट प्रेरित छ।
'परालको आगो' वैशाख ११ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ।